घरमा जोखिमपूर्ण सुत्केरी गराउनेको सङ्ख्या जिल्ला अस्पताल भएकै ठाउँमा बढी भएको तथ्याङ्कले देखाएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा ४ सय २५ जना घरमा सुत्केरी भएका छन् । जसमध्ये गुलरिया नगरपालिकाका ३ सय ३० जना ७७.६ प्रतिशत घरमा सुत्केरी भएका छन् ।
गत आर्थिक वर्ष २०७९/०८० मा ८४ जना घरमा सुत्केरी भएका मध्ये गुलरिया नगरपालिकामा ७५ जना रहेका थिए । आर्थिक वर्ष २०७८/०७९मा १ सय २५ जना मध्ये गुलरिया नगरपालिकामा ९२ र आर्थिक वर्ष २०७७/०७८ मा २ सय १६ जना मध्ये गुलरिया नगरपालिकामा १ सय ६३ जना घरमा सुत्केरी भएको स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ ।
घरमा जोखियुक्त सुत्केरी गराउदा आमा र शिशुको ज्यान जोखिम पर्ने गरेको छ । गुलरिया नगरपालिका –१० कालाबन्जरकी २१ वर्षीया शर्मावती तेली शोकमा हुनु हुन्छ । जन्मेको पाँच घण्टामा शिशु मृत्यु भएपछि शोकमा पुगेकी शर्मावती अझै शोकबाट बाहिर आउन सक्नु भएको छैन ।
गत असार १३ गते साँझ शर्मावतीको एक्कासी पेट दुखेपछि परिवारले उहाँलाई बर्दिया अस्पताल लिएर जानु भयो । अस्पतालमा पुगेर चेकजाँच गरेपछि चिकित्सकले यहाँ उपचार गर्न नसकिने भएकोले तुरून्तै नेपालगञ्ज लैजानु पर्ने बताएको थियो ।
“साथमा पैसा नभएकाले त्यो दिन ११ बजे राती घर फिर्ता आयौ । अर्को दिन घरपरिवारले पैसा खोज्दै हुनुहुन्थ्यो । मेरो पेट दुखाइ झन बढ्यो घरपरिवार, आफन्त र छिमेकी महिलाहरूले मलाई घरमा सुत्केरी गराए । म सुत्केरी भएको ५ घण्टामा छोराको मुत्यु भयो ।,” शर्मावतीले भन्नु भयो ।
शर्मावती एक प्रतिनिधि पात्र मात्र हुन् । उहाँ जस्तै घरमा गर्भवती हुनेको सङ्ख्या जिल्ला अस्पताल भएको गुलरिया नगपालिकामा एक वर्षमा तीन आमा र २५ जना शिशुको मृत्यु भएको स्वास्थ्य शाखाको तथ्याङ्क रहेको छ ।
बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट बरिष्ठ चिकित्सक डाक्टर सुभाष पाण्डेले अस्पतालमा उच्च जोखिम भएका सुत्केरीको लागि आइसीयु आवश्यक भएको बताउनु हुन्छ । अस्पतालमा आइसीयु सेवा नहुदाँ जटिल खालका सुत्केरीलाई सुविधा सम्पन्न अस्पतलमा पठाउने गरेको पाण्डेले बताउनु भयो ।
स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर रामविश्वास रायले घरमा सुत्केरी हुदाँ रक्तश्राव हुने, प्र्रशव व्यथा लामो समय हुने, पाठेघर बाहिर निस्किने सालनाल अड्किन सक्ने जस्ता समस्या देखिने भएको स्वास्थ्य संस्थाबाट प्रसूती सेवा लिनु पर्ने बताउनु भयो ।
यसैगरी, बच्चा खेल्ने पानीको फोका फुट्ने, बच्चा पेटमा मर्ने सालनाल काट्दा सङ्क्रमण हुने, जन्मे पछि बच्चा ढिलो रुने र अक्सिजनको कमीले दिर्घकालिनरुपमा शारिरीक र मानसिकरुपमा असर पर्न सक्ने भएकोले घरमा सुत्केरी गराउन नहुने डाक्टर रायले बताउनु भयो ।
समयमा स्वास्थ्य संस्थामा ल्याएर सुरक्षितरुपमा सुत्केरी गराउदा आमा र बच्चा दुबै सुरक्षित रहने भएकोले स्वास्थ्य संस्थामा सुत्केरी गराउन पर्ने डाक्टर रायको सुझाव छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णगोपाल चौधरीले स्वास्थ्य संस्थामा सुत्केरी गराउदा कुनै शुल्क नलाग्ने बताउदै जनचेतनाको कमी र परिवारको लापवाहीले गर्दा घरमा सुत्केरी गराउने भएकाले जोखिम बढेको बताउनु भयो ।