कारागारको क्षमताभन्दा बढी कैदीबन्दीलाई एकै ठाउँमा राख्नु परेका कारण कारागारमा व्यवस्थापनलगायत विविध विषयमा समस्या भएको छ ।
जलेश्वर कारागारमा १ सय ३५ जना कैदीबन्दी बस्ने क्षमता रहेकोमा हाल ४९ महिला कैदीबन्दी, चार जना आश्रति बालबालिका सहित ३ सय ९६ जना कैदीबन्दी छन् ।
वर्षातको समय सुरु भएपछि अहिले कारागार भित्र पानी जम्दा कैदीबन्दीलाई सुत्न, खाना पकाउन, शौचालय र भरपर्दो उपचारको समस्या रहेको प्रशासनको भनाइ छ ।
वर्षासँगै ढलको उचित व्यवस्था नहुँदा बाहिरबाट आउने फोहर पानी र विषालु सर्पको बिगबिगी बढ्न गएकाले रातभर जागेर बस्नुपर्ने बाध्यता रहेको कैदी रामदुलार यादवको गुनासो छ ।
१ सय ५४ वर्षपुरानो सो कारागारको मर्मतसम्भार नहुँदा पानी चुहेर पालमूनी रात काटनुपर्ने बाध्यता रहेको महिला कैदी देवी साहको भनाइ छ ।
सरकारले कैदीबन्दीलाई प्रतिकैदी एक दिनको ७ सय ग्राम चामल तथा नगद ४५ रुपियाँ दिए पनि अहिलेको महङ्गीको समयमा सो रकम अपुग भएकोले बढाउनुपर्ने कैदी बिजय पाण्डेको माग छ ।
कारागारभित्र पुरुष कैदीबन्दीतर्फ १० र महिला कैदीबन्दी तर्फदुई ओटा गरी १२ शौचालय रहेपनि कैदीबन्दीको चाप बढ्नाले उनीहरू बिहानैदेखि लाइनमा बसेर शौच गर्नुपर्ने बाध्यता रहेको कारागार प्रशासनको भनाइ छ ।
कारागार प्रशासनले केन्द्रीय कारागार व्यवस्थापन विभागलाई पत्राचार गरी महोत्तरी कारागारको उचित व्यवस्थापन गर्न बारम्बार आग्रह गरे पनि सुनवाइ नभएपछि कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य भएको जेलर सोभेन्द्र ठाकुरले बताएका छन् ।
कारागार प्रशासनका अनुसार विभिन्न सजाय भोगिरहेका कारागारभित्रका कैदीबन्दी झाडा-पखाला, छाला, घाउखटिरा, ज्वरो जस्ता रोगको प्रकोपबाट प्रभावित छन् ।
गम्भीर प्राकृतिका रोग लागेका कैदीबन्दीको व्यवस्थापन विभागले उपचार गरेपनि समान्य रोग भए स्थानीय कारागार प्रशासनले उपचार गर्दा पनि भरपर्दो उपचार नभएको जेलर ठाकुरले बताएका छन् ।