INSEC Online

📅 २०८३ जेष्ठ २१

छोराको पीरले बाँच्न समेत कठिन भएको छः बेपत्ता पारिएका व्यक्तिका परिवार

द्वन्द्वमा बेपत्ता भएका आफ्नो छोराको अवस्था बारे सार्वजनिक नहुँदा छोराको पीरले बाँच्न समेत कठिन भएको चौतारा सागाचोकगढी नगरपालिका-१३ स्थित ठूलोसिरुवारीकी बेपत्ता पारिएका व्यक्तिका परिवार ७८ वर्षीया डल्ली सार्कीले बताउनु भयो ।

साबिक ठूलोसिरुवारी गाविस-२, कोटडाँडाँ हाल चौतारा सागाचोकगढी नगरपालिका-१३ की डल्ली सार्कीको २२ वर्षीय छोरा गोरेबहादुर पुर्कोटीलाई ०५६ जेठ २ गते माओवादी समर्थक भएको आरोपमा सेनाले काठमाडौँको बागबजारबाट गिरफ्तार गरी लगेकोमा हाल सम्म उहाँ फर्केर आउनु भएको छैन ।

सेनाले गिरफ्तार गरी लगेको आफ्नो छोरा एक दिन फर्केर घर आउने आशामा आफू बाँचेको डल्ली सार्कीले बताउनु भयो । तर धेरै समय बित्यो छोराको खबर नपाउँदा आफू बाँच्न समेत कठिन भएकोले बेपत्ता छोराको खोजिको लागि पहल गरिदिन डल्ली सार्कीले इन्सेकलाई आग्रह समेत गर्नुभयो ।

‘छोरा आउँछ कि भन्ने आशामा दिन बिताएको पनि २४ वर्ष बित्यो, तर अहिले सम्म छोरा फर्केर आएन । क्याम्पस पढ्न गएको मेरो छोराले के बिराम गर्‍यो र ? यसरी अहिले सम्म हामीलाई अन्याय सहन किन बाध्य परिएको होला ?’, उहाँको मनमा अनेकखाले प्रश्नहरू उब्जिएको छ ।

बेपत्ता पारिएको छोरा मारिएकै भए पनि काहाँ कहिले मारिएको हो खबर दिए हुन्थ्यो । मारिएको भए काजक्रिया गर्न पाइन्थ्यो । जीवनभर छोारको पीरले तड्पिएर बाँच्नु पर्ने अवस्था भएको बेपत्ता गोरेबहादुरकी आमा डल्ली सार्कीको भनाई छ ।

छोराको खोजिका लागि मानव अधिकार आयोग, बेपत्ता आयोग, शान्ति समिति, जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न ठाउँमा विभिन्न मितिमा निवेदन दिए पनि खोजी नभएको डल्ली सार्कीको गुनासो छ ।

बुबा बुद्धिलाल सार्की पनि बेपत्ता छोराकै पीरले पाँच वर्ष अघि बित्नुभयो । आफू पनि न्याय नपाएरै मर्ने भएँ, केही पहल त गरिदिन पर्‍यो नि भन्दै इन्सेकलाई उहाँले आग्रह गर्नुभयो ।

Photo_080-6-23_Sindhupalchok

अन्य

भिडियो