१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा घोडाघोडी नगपालिका–६ आदर्शनगरका ६० वर्षीय कल्लु दमाईलाई ०८० असोज २२ गते १८ वर्ष कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश डल्लुराम चौधरीको इजलासले कसूर ठहर गरी १८ वर्ष कैद सजाय र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्र्ति भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत चेतबहादुर बोहराले बताउनु भयो ।
पीडित बालिकालाई २०७८ चैत ११ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित परिवारले चैत १३ गते ईलाका प्रहरी कार्यालय, सुख्डमा उजुरी दिनु भएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतको २०७८ वैशाख ९ गतेको आदेश अनुसार आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७८ चैत १४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।