राष्ट्रिय मानव अधिकार आयोगले गत असार ३० गते काठमाडौँको सामाखुसीस्थित सडक नालीमा खसेर १० वर्षीया एक बालिकाको मृत्यु भएको घटनाप्रति चासो देखाएको राससले जनाएको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले साउन २ गते प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्यतथ्य अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको बताइन् ।
विज्ञप्तिमा भनिएको छ-“पछिल्लो समयमा काठमाडौँका सडक तथा खानेपानी विस्तार गर्ने, ढल व्यवस्थापन गर्ने सन्दर्भमा भत्काइएका सडक मर्मतसम्भार नगर्दा सर्वसाधारण एवं बालबालिकाले दैनिक आवतजावतमा समस्या भोग्नुपरेको तथा मानवीय क्षेतिसमेत हुने गरेको छ ।”
विकास निर्माणसँग सम्बन्धित निकायबीच समन्वयको अभाव, आर्थिक वर्षको अन्त्यमा अत्याधिक बजेट खर्च गर्ने प्रवृत्ति, सम्बन्धित निकायबाट प्रभावकारी अनुगमनको अभावबाट यस्ता प्रकृतिका घटना घट्ने गरेको आयोगको ठहर छ ।
आयोगले दिनप्रतिदिन सडकको अवस्था नाजुक बन्दै जाँदासमेत नगरपालिका, खानेपानी तथा ढल निकास विभाग, मेलम्ची खानेपानी आयोजना लगायतले आम नागरिकको अधिकारप्रति जिम्मेवारी नलिनु अत्यन्त दुःखद् भएको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले यस किसिमका घटना भविष्यमा देशको कुनै पनि भागमा दोहोरिन नदिनेतर्फतत्काल आवश्यक सम्पूर्ण उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
असार ३० गते सामाखुसीमा नेपालटारकी कक्षा ३ मा पढ्ने विनिता फुयाँलको ढलले बगाएर ज्यान गएको थियो भने अर्की बालिका सत्या सापकोटालाई ढलले बगाउँदै गर्दा उद्धार गरिएको थियो ।