INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारिता निष्पक्ष हुनुपर्छः अध्यक्ष डा. अर्याल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०८० असोज १७ गते भरतपुरमा आयोजना भएको मानव अधिकार सम्वद्धनमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले पत्रकारिता निष्पक्ष हुनुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा उहाँले आर्थिक र राजनीतिक प्रभावका कारण पत्रकारिता क्षेत्र व्यवसायिक हुनबाट चुकिरहेको बताउनु भयो । ‘आर्थिक र राजनीतिक प्रभावले गर्दा पत्रकारिता स्वतन्त्र हुन सकेको छैन, पत्रकारले सत्यको खोजी गर्नु पर्नेमा मुल धर्मबाट विमुख भइरहेको छ’, अध्यक्ष डा. अर्यालले भन्नुभयो ।

Photo_080-6-17_Chitwan3ऽ

पत्रकारसँग समाजको उच्च भरोसा र विश्वास रहेको उल्लेख गर्दै डा. अर्यालले तमाम वेथितिलाई सही ठाउँमा ल्याउन पहल कदमी चाल्ने पत्रकारिता अहिले निष्पक्ष र स्वतन्त्र हुन नसकेको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले मानव अधिकारको संरक्षण, प्रवद्धन र सम्वद्धनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै मानव अधिकारको विषय बदलिँदो परिवेससँग फरक फरक रहेको बताउनु भयो ।

राज्य पक्षले नागरिकको न्यूनतम मानव अधिकारको रक्षा गर्न नसकेको अवस्थामा सञ्चार क्षेत्रबाट नागरिकले अपेक्षा गरिरहेको उहाँको भनाइ छ । न्यायको पहुँचमा कमजोर मानिसहरू नरहेको भन्दै उहाँले आवाज विहीनको आवाज बनेर निरन्तर वकालत गर्नु पत्रकारको मुख्य जिम्मेवारी रहेको बताउनु भयो ।

Photo_080-6-17_Chitwan

राजनीतिक, आर्थिक कारणले गर्दा स्वतन्त्र र निष्पक्ष पत्रकारिताको अभ्यास कमजोर भएकोमा नागरिक समाजका अगुवाले टिप्पणी गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीले नागरिकको मौलिक हक अधिकार रक्षाका लागि राज्य नै पहिलो जिम्मेवार निकाय भएको बताउनु भयो । राज्य अभिभावक भएकाले उसले नै नागरिकको रक्षा गर्नु पर्ने भन्दै अध्यक्ष अधिकारीले पत्रकारहरू कुनै राजनीतिक धारमा विभाजन हुँदा वास्तविक पीडितको आवाजहरू बाहिर आउन नसकेको बताउनु भयो ।

Photo_080-6-17_Chitwan।

चितवन जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष खगराज कँडेलले पत्रकारिताको राजनैतिक पक्षधरता समाजको लागि हानिकारक रहेको बताउनु भयो । निष्पक्ष, निर्भिक र स्वतन्त्र भनिएको पत्रकारिता क्षेत्र नै राजनैतिक आस्थाका आधारमा देखा पर्ने गरेकोमा गुनासो गर्दै अध्यक्ष कँडेलले चौथो अङ्गको महत्व र गरिमा जोगाउन आवश्यक रहेको बताउनु भयो । नकरात्मक गतिविधिमा पत्रकारिता क्षेत्रले महत्व दिएकोमा दुखेसो गर्दै उहाँले समाज विकासको चरणमा मानिसको चेतना निर्माणका लागि सकरात्मक सन्देश दिनुको विकल्प नभएको बताउनु भयो ।

मिडियाले सामाजिक, साँस्कृतिकसँगै आर्थिक अधिकारको क्षेत्रमा पनि वहल र वकालत गर्नु पर्ने उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष शिरिष पन्तले बताउनु भयो । कार्यक्रममा अधिवक्ताहरू रमेश काफ्ले, मुकुन्द दाहाल, पवित्रा सुवेदी, पत्रकार मधुसुदन दवाडी, माइती नेपालका प्रमुख इश्वर गिरी, एनजिओ फेडरेशनका केन्द्रीय सदस्य सुरेशकुमार अधिकारी, रामचन्द्र आचार्य, पत्रकार कृष्ण खनाललगायतले मानव अधिकार सम्वद्धनमा मिडियाको भूमिका विषयमा आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रम इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Photo_080-6-17_Chitwan3

अन्य

भिडियो