साविक कुविण्डे गाविस-७ हाल चौतारा साँगाचोकगढी नगरपालिका-४, कुविण्डेकी बेपत्ता पारिएका व्यक्तिका परिवार तुलसामायाँ नेपालले आर्थिक अभावले बाँच्न कठिन भएको बताउनु भयो ।
आफ्ना तीन छोराहरू मध्ये माइलो द्वन्द्वमा सेनाद्वारा मारियो । कान्छो छोरा माधव नेपाललाई राज्यले बेपत्ता बनायो र जेठो छोरालाई माओवादीले कुटपिट गरेर गरिखान नसक्ने भएपछि अहिले आर्थिक बिपन्नताले बाँच्न कठिन भएको पीडितकी आमा ७३ वर्षीया तुलसामायाँ नेपालले इन्सेकलाई बताउनु भयो ।

बेपत्ता छोराको पीडा त छँदै छ, त्यसमा पनि आर्थिक अभावले बाँच्न कठिन भएपछि थप पीडा भएको उहाँको गुनासो छ । तुलसामायाँ नेपालको कान्छो छोरा माधव नेपाल (अखिल) माओवादी भएको आरोपमा ०६० मङ्सिर १२ गते कम्प्युटर सिक्न गएका बेला काठमाडौँको कोटेश्वरबाट सेनाले गिरफ्तार गरी लगेकोमा उहाँ अहिलेसम्म फर्किनुभएको छैन । बेपत्ता छोराको पीडाले मानसिक तनाव हुनुभएका बुबा कृष्णहरि नेपाल ६ महिनासम्म पक्षाघात भइ ०७४ फागुन १३ गते मृत्यु भएको तुलसामायाँ नेपालले जानकारी दिनुभयो ।
बेपत्ता छोराको खोजिका लागि भनेर आमा तुलसामायाँ नेपालले ०६३ सालमा प्रमुख जिल्ला अधिकारी, ०६५ सालमा शान्ति समिति, ०६६ सालमा राष्ट्रिय मानव अधिकार आयोग, ०६५ सालमा संयुक्त राष्ट्रसङ्घको नेपाल स्थित उच्च आयुक्तको कार्यालय, ०६६ सालमा आइसीआरसी, ०६९ सालमा बेपत्ता आयोग लगायत विभिन्न ठाउँमा निवेदन दिए पनि छोराको खोजी नभएको उहाँको गुनासो छ ।
आर्थिक उपार्जन गर्ने आफ्ना छोराहरू कोही मारिए, कोही बेपत्ता पारिए, कोही यातनाले कामकाज गर्न नसक्ने भए । अहिले बुढेसकालमा आफू पनि काम गर्न नसक्ने भएको कारण आर्थिक बिपन्नताले बाँच्न कठिन भएको तुलसामायाँको भनाई छ ।
बेपत्ता परिवारको अवस्था बारे जानकारी लिन असोज १५ गते इन्सेक बागमती प्रदेशका प्रलेख अधिकृत सोम नेपाली र इन्सेक जिल्ला प्रतिनिधि बेपत्ता परिवार तुलसामायाँ नेपालको घर पुग्दा उहाँले आर्थिक बिपन्नताले आफू र परिवार बाँच्न कठिन भएको बताउनुभएको हो ।
