रामनगर गाउँपालिका–१ खैर्वाकी २३ वर्षीया मनिषा देवी साहको हत्या गरेको आरोपमा २६ वर्षीय पति सुनिल साह सहित तीन जनालाई ०८० असोज १० गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।
घटना शंकास्पद देखिएको हुनाले घाटनास्थलबाट प्रहरीले मृतककी पति सुनिल साह, ४९ वर्षीय ससुरा रामेश्वर साह र १९ वर्षीय देवर रामबाबु साहलाई प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
मनिषा देवी साहलाई विष खुवाइ हत्या गरेको अशङ्कामा जिल्ला प्रहरी कार्यालयको टोलीले शव खैर्वाको पश्चिम तर्फ नाहर घाटमा जलाउन लाग्दै गरेको अवस्थामा ०८० असोज १० गते राती ९ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।
मृतकले केही औषधी खाइ र पासो लगाएर आत्महत्या गरेको जस्तो देखिनुका साथै मृतकको गलामा निलडाम समेत देखिएको डिएसपी थारुले बताउनु हुँदै सो को आधारमा घटनाको अनुसन्धान भइरहेको बताउनु भयो । हत्या भएको वा आत्महत्या भएको पोस्टमार्टम पश्चात खुल्ने उहाँले जानकारी दिनु भयो ।
आत्महत्या गरे पनि प्रहरीलाई जानकारी नगराई, कानुनी प्रक्रिया पुरा नगरी शव जलाउन खोजेकाले पति सहित परिवारका तीन जनालाई गिरफ्तार गरिएको डएसपी थारुले जानकारी दिनु भयो ।
मृतककी आरोपित ससुराले “मृतक मानसिक रोगकी बिरामी भएकोे” बताउनु भयो । “मानसिक बिरामीका कारण बुहारीले आत्महत्या गरेकी हुन्, हामीले उनको हत्या गरेका हैनौं” उहाँले बताउनु भयो ।
शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ ।
मृतककी बुबा कविलासी नगरपालिका–३ का ४७ वर्षीय राजकिशोर साहले छोरीको हत्या उनको पति तथा परिवारका अन्य सदस्यहरूले गरेको आरोप लगाउनु भयो ।