मालिका गाउँपालिका–४ महभीरको ओडारबोटमा बस्ती भन्दा माथिबाट खसेको पहिरोले दुई ओटा घर पुरिए पछि दुई परिवार विस्थापित भएका छन् भने १६ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
भारी वर्षासंगै सिद्धथान भीरबाट खसेको पहिरोले स्थानीय काले विक र रबिलाल घर्तिको घर पूर्ण रुपमा क्षति भएको हो । रातको समयमा पहिरो खस्न थालेपछि स्थानीयले भागदौड गरेर ज्यान जोगाएका थिए । भारी वर्षा संगै खसेको पहिरोले काले विकको एक तले र घर्तीको दुई तले घर पूर्ण क्षती भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो ।
पहिरोले घर्तीको गोठमा बाँधिएका एक गोरु र एक राँगो समेत पुरिएर मृत्यु भएको छ । विस्थापित विक र घर्तीको परिवारलाई छिमेकीको घरमा बस्ने प्रवन्ध मिलाइएको छ । काले विकको परिवारमा दुई जना महिला र दुई जना पुरुष गरी चार जना र रबिलाल घर्तीको घरमा तीन जना महिला र दुई पुरुष सहित पाँच जनागरी कुल नौ जना पूर्ण रुपमा विस्थापित भएको मालिका गाउँपालिका– ४ का वडा सदस्य गर्भे गुरुङले जानकारी दिनुभयो ।
पहिरोले क्षति भएको जानकारी पाए पछि परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा आश्रय लिएर राखिएको उहाँको भनाई छ ।
पहिरो प्रभावित क्षेत्रमा मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा, ४ नम्बर वडा अध्यक्ष भेजेन्द्रमान पुन लगायतको टोलीले निरीक्षण गर्नुका साथै पीडितको अवस्था र पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिनुभएको थियो ।


