गुर्भाकोट नपा-१० का ३४ वर्षीय निर्मल सुनारलाई बहुविवाह गरेको कसुरमा जिल्ला अदालत सुर्खेतले असार २९ गते एक वर्षकैद सजायको फैसला गरेको छ ।
निर्मलले ०७२ साउनमा ३० वर्षीया रेश्मी महरसँग बहुविवाह गरेको आरोपमा ३३ वर्षीया जेठी पत्नी गोल्मा सुनारले मुद्दा दायर गरेकी थिइन् । अदालतमा मुद्दा दर्ता गरे लगत्तै फरार रहेका सुनारलाई जिल्ला अदालत सुर्खेतले यसअघि ०७२ असोज २९ गते एक वर्षकैद र ५ हजार रुपियाँ जरिबाना हुनेगरी फैसला गरेको थियो ।
जेठी पत्नी गोल्माले उजुरी दिए लगत्तै कान्छी पत्नी ३० वर्षीया रेश्मी महरसँगै फरार रहेका सुनारलाई प्रहरीले असार २८ गते घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले बताए ।
गिरफ्तारपछि प्रहरीले असार २९ गते जिल्ला अदालत सुर्खेतमा बुझाएपछि अदालतले सुनारलाई एक वर्षको कैद भुक्तानका लागि कारागार चलान गरेको हो ।