अदानचुली गाउँपालिका–५ स्थित बारिगाउँ की ३५ वर्षीया धनकौरी रावल (दर्शना) अहिले कुबेत देशमा अलपत्रमा पर्नु भएको छ । एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपाल ,काठमाडौँले कुनै राम्रो कम्पनीमा काम लगाइदिने भन्दै भदौ ११ गते ललाई फकाई गरी कुबेत पठाइएकी रावललाई कम्पनीले कुनै एक घरमा दासको रुपमा काम गर्न लगाएपछि भदौ २२ गतेदेखि रुदै सामाजिक सञ्जालमा नेपाल सरकारलाई हारगुहार गर्न बाध्य हुनु भएको छ ।
वैदेशिक रोजगार कम्पनीले राम्रो काममा लगाइदिने भन्दै कुबेत पठाएको तर त्यहाँ कम्पनीमा काम नलगाइ कुनै घरको दास बनाएर राखेपछि आफू सामाजिक सञ्जाल फेसबुकमा आउन बाध्य भएको पीडितको भनाइ छ ।
पीडितकी पति मंगले रावलका अनुसार सानै उमेरमा टाउकोमा गम्भीर चोट लागेकाले लामो समय काम गर्न नसक्ने भएका कारण निकै समस्या भएको बताउनुभयो ।
विदेश लैजाँदा कम्पनीले दिनको आठ घण्टा कम्पनीमा काम गर्ने गरी पठाउने आश्वासन दिए पनि हाल आएर उक्त कम्पनीले १४ घण्टा सम्म निरन्तर काममा लगाइ खान बस्न समेत घरबेटीले नदिएपछि अत्यन्तै समस्या भएको पति रावलले गुनासो गर्नु भएको छ ।
दिन प्रतिदिन कामको घण्टा बढाउदै विभिन्न बाहानामा दुख दिने गरेको र आफूलाई फाँसी लगाएर मर्नु बाहेक विकल्प नभएको भन्दै रुदै कराउदै सबैलाई सहयोग तथा उद्धारका लागि अपिल समेत गर्नु भएको छ ।
अनेरास्वबियुले पीडितको उद्धारको माग गर्दै जिल्ला प्रशासन कार्यलय,हुम्लामा भदौ २४ गते ध्यानाकर्षण पत्र बुझाएको छ ।
पीडितले मानसिक तथा सामाजिक यातना दिन थालेको भन्दै सामाजिक संञ्जाल मार्फत उद्धार गर्न माग गरेपछि जिल्ला प्रशासन कार्यलयमा ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियु,हुम्लाका उपाध्यक्ष छक्क लामाले बताउनुभयो ।
ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडल मार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यलयलाई बुझाएको उपाध्यक्ष लामाले बताउनुभयो ।
उद्धारका लागि छिटो भन्दा छिटो जिल्ला प्रशासन मार्फत नेपाल सरकार समक्ष जोडदार माग सहित उद्धारको पहल गर्नको लागि ध्यानाकर्षण गरिएको छ । अलपत्र परेकी महिलाको उद्धारका लागि आफूले सोही दिन केन्द्रमा परिपत्र पठाई सकेको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।