INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदी मृत्यु प्रकरण: सात जना प्रहरी र आठ जना कैदीविरूद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता

जिल्ला कारागार खाँदवारीमा ०८० साउन २४ गते दुई जना कैदीबन्दीको कुटपिटबाट मृत्यु घटनाका १५ जना आरोपितविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले भदौ २२ गते कैदीको मृत्यु घटनामा संलग्न भएका १५ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता गराउनु भएको हो ।

सङ्खुवासभाको मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको कारागारका सुरक्षाकर्मी र केही कैदीबन्दीको यातनाबाट मृत्यु भएको घटनामा १५ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता गरिएको सरकारी वकिल भण्डारीले बताउनु भयो ।

कैदीको यातनापछि मृत्यु घटनामा मोरङको कटहरी गाउँपालिका-१ महेशपुर स्थायी घरभइ जिल्ला कारागार खाँदवारीमा कार्यरत असइ लक्ष्मी चौधरी, इलामको इलाम नगरपालिका-११ स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २४ वर्षीय सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका-१४ बाङ्गे स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २४ वर्षीय दमनसिंह राई, खोटाङको खोटेहाङ्ग गाउँपालिका-८ कात्तिके स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, खोटाङको जन्तेढुङ्गा गाउँपालिका-३ स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २३ वर्षीय प्रहरी जवान मनिष राई, सुनसरीको कोशी गाउँपालिका-५ श्रीपुर स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २४ वर्षीय प्रहरी जवान पवनकुमार महतो र उदयपुरको लिम्चुङबुङ्ग गाउँपालिका-४ बलाम्ता स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २३ वर्षीय नुशन राईविरूद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।

कैदीको मृत्यु घटनामा कारागारमा कैद भुक्तान गरिरहेका आठ जनाविरूद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।

खाँदवारी नगरपालिका-२ चेवा स्थायी घर भइ जिल्ला कारागारका बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २८ वर्षीय रामबहादुर कार्की भनिने राम कार्की, खाँदवारी नगरपालिका-९ गैरीगाउँ स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २६ वर्षीय अनिश शर्मा कट्टेल, भोजपुरको भोजपुर नगरपालिका-१० भैँसीपङ्खा स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २८ वर्षीय सचिन्द्र भनिने सचिन राई, मकालु गाउँपालिका-५ सोलाखानी स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २३ वर्षीय विक्रम भनिने सुमन सारू मगर, चैनपुर नगरपालिका-३ स्थायी घर भइ जिल्ला कारागारमा डाँकाचोरी कसुरमा कैद भुक्तान गरिरहेका २९ वर्षीय टिकाराम भनिने टिकाराज चौहान, चिचिला गाउँपालिका-४ खारमेली स्थायी घर भइ जिल्ला कारागारमा कर्तव्य ज्यान कसुरमा कैद भुक्तान गरिरहेका ४० वर्षीय नवीनकुमार राई, खाँदवारी नगरपालिका-६ तल्लो पाङ्गठा स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका ४१ वर्षीय इन्द्रध्वज घिमिरे र मादी नगरपालिका-५ वेतिनी स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २१ वर्षीय मीन तामाङ भनिने मीनबहादुर तामाङविरूद्ध मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको भदौ २२ गतेको आदेशले प्रहरीको हिरासतमा रहेका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव, कार्यालय सहयोगी ढकलाल कार्की, प्रहरी जवान अमृतबहादुर कार्की, मुकेश विक र मनोज सोङ्मी सरकारी साक्षीको रूपमा अदालतमा पेश हुने गरी रिहा भएका छन् ।

अदालतको सोही आदेशले जिल्ला कारागार खाँदवारीका जेलर राजेन्द्र घिमिरे रिहा भएका छन् ।

कैदीको मृत्यु घटनामा इन्सेकले ०८० साउन २६ गतेदेखि साउन २८ गतेसम्म स्थलगत अनुगमन गरी यातनाका कारण दुई जना कैदीको मृत्यु भएको प्रतिवेदन साउन ३२ गते सार्वजनिक गरेको थियो ।

Photo 202308809 Sangkhuwasabha (1)

Photo 202308809 Sangkhuwasabha (2)

Photo 202308809 Sangkhuwasabha (3)

Photo 202308809 Sangkhuwasabha (4)

 

अन्य

भिडियो