खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका कैद भुक्तान गरिरहेको अवस्थामा कुटपिटबाट मारिएका आकाश बलामीको परिवारले क्षतिपूर्ति माग गर्दै गृह मन्त्रालयमा माग पत्र बुझाएको छ ।

कारागारका सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट मारिएका नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीकी २९ वर्षीया पत्नी लक्ष्मी श्रेष्ठले भदौ २१ गते गृह मन्त्रालयमा माग पत्र बुझाउनु भएको हो ।
पतिको मृत्यु भएपछि आर्थिक सङ्कटसँगै सात वर्षीया छोरीको भविष्य असुरक्षित भएको, काजक्रिया खर्च नभएको र क्षमता अनुसार आफूलाई रोजगारी दिलाइन दिन पीडित लक्ष्मीले सरकारसँग माग गर्नु भएको छ ।
पीडित परिवारका माग सम्बोधनका लागि गृह मन्त्रालयलाई माग-पत्र बुझाएको र पत्रको दर्ता नम्वर १६६ रहेको पीडित परिवारले जनाएको छ ।
जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेको अवस्थामा कारागारबाट भाग्न खोजेको आरोपमा कारागारका सुरक्षाकर्मी र कैदीबन्दीको निर्घात कुटपिटका कारण सङ्गखुवासभा मादी नगरपालिका-५ का ३० वर्षीय प्रकाश तोलाङ्गी र २८ वर्षीय आकाश बलामीको ०८० साउन २४ गते मृत्यु भएको थियो ।
घटनाका विषयमा इन्सेकले साउन २६ गतेदेखि साउन २८ गतेसम्म घटनाको स्थलगत अनुगमन गरी यातनाका कारण कैदीबन्दीको मृत्यु भएको निश्कर्ष साउन ३२ गते सार्वजनिक गरिसकेको छ ।