INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्पतालमा औषधि अभाव हुँदा बिरामीहरू नीजि फार्मेसीमा औषधि किन्न बाध्य

नेपाल सरकारले सरकारी अस्पताललाई वर्गिकरण गरी निशुल्क दिने भनिएको औषधि खरिद गर्ने रकम अभाव हुँदा उपचारमा आउने बिरामीहरू नीजि फार्मेसीमा किन्न बाध्य भएका छन् ।

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मित स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था रहेको छ । साथै जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ मा प्रत्येक नागरिकलाई तोकिए बमोजिमका आधारभूत स्वास्थ्य सेवाहरू निशुल्क प्राप्त गर्ने हकको व्यवस्था रहेको छ ।

स्वास्थ्य बिमा गर्ने नागरिकलाई १ हजार १ सय प्रकारका औषधि निशुल्क उपलब्ध गराउने वा नेपाल सरकारले तोकेको माथिल्लो स्वास्थ्य संस्थामा उपचारका लागि बिरामीलाई पठाउने कानुनी व्यवस्था रहेको भीमेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिहर न्यौपानेले बताउनु भयो ।

तर बागमती प्रदेश मातहत सञ्चालित दोलखाको पशुपति चौलागाई अस्पतालको फार्मेसीमा सामान्य सिटामोल र ग्यास्ट्रिकको औषधि समेत पाइँदैन । बागमती प्रदेश सरकारले आफ्नो मातहतका अस्पताल मध्ये यस अस्पतालमा दश प्रतिशत निशुल्क औषधि उपचारको व्यवस्था भएको घोषणा गरेको केही समयमा नै उपचारमा आउने बिरामीले नीजि औषधालयमा औषधि किन्न बाध्य भएका छन् ।

पशुपति चौलागाई स्मृति अस्पताल, चरिकोटका चिकित्सकसँग भदौ १८ गते जाँच गराई चिकित्सकले दिएको प्रेस्कृप्शन लिएर अस्पतालको फार्मेसीमा औषधि किन्न पुग्नु भएको दोलखाको तामाकोशी गाउँपालिका-२ की मैयाँ खड्काले केही औषधि पाउनुभएन । खड्काले मात्रै होईन पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार गर्न पुगेका अधिकांश बिरामीले अस्पतालमा औषधि पाउने गरेका छैनन् । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधि अभाव भएको छ । शल्यक्रियाका लागि वार्डमा राखिएका बिरामीलाई आवश्यक पर्ने औषधि समेत फार्मेसीमा छैन ।

अस्पतालमा इमर्जेन्सीका लागि आवश्यक औषधिहरू समेत फार्मेसीमा नपाइने बिरामी र बिरामी कुरुवाहरूले गुनासो गरेका छन् । वार्डमा भर्ना भएका बिरामीका लागि समेत औषधि नभएर बाहिर किन्न पठाउने गरेका छन् । छोराको उपचार गर्न अस्पतामा पुग्नुभएको निर्मला केसीले पनि औषधि नपाएको बताउनु भयो । अस्पतलमा नै भएको फर्मेसीले दिइएको औषधि मात्रैमा छुट दिने र अस्पतालले सिफारीस गरेको औषधिमा छुट नदिने गरेका कारण अस्पतालमा उपचार गराई रहेका बिरामी र बिरामीका आफन्ताहरू मात्रै हैनन् नेपाल सरकारले छुट दिने गरिब, विपन्न, हिंसा पीडित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूले समेत औषधिमा छुट पाउन नसकेको भीमेश्वर नगरपालिकाका ज्येष्ठ नागरिक ओमबहादुर केसीले बताउनु भयो ।

अस्पतालमा आउने बिरामीको सङ्ख्याका आधारमा फार्मेसीमा दैनिक ३० हजार रुपियाँ बराबरको औषधि आवश्यक पर्नेमा मुस्किलले ८ हजारको औषधि पनि फर्मेसीमा रहेको छैन् । औषधि खरिदका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पैसा नदिने र आन्तरिक स्रोतबाट नै औषधि किन्नु पर्ने भएकाले समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरतनारायण प्रधानले बताउनु भयो ।

गत वर्ष ३० लाख रुपियाँको औषधि खरिद गरिएकोमा ८ लाख रुपियाँ रकम तिर्न बाँकी रहेको छ भने यो वर्ष ७० लाख रुपियाँको औषधि आवश्यक भएपछि एक महिनाका लागि पुग्ने गरी करिब १० लाख रुपियाँ उधारो औषधि किन्ने तयारी भइरहेको पशुपति चौलगाई प्रादेशीक अस्पतालका प्रमुख डा. ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनुभयो । हाल फार्मेसीमा औषधि अभाव भएको र आगामी दिनमा औषधि अभावन हुन नदिनका लागि पहल भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रधानले बताउनु भयो । औषधि अभाव हुदाँ बिरामी र बिरामीका आफन्तहरू अस्पतालको फार्मेसीमा नपाएपछि निजी औषधालयमा औषधि किन्न बाध्य भएको उहाँले उल्लेख गर्नुभयो ।

Photo_080-5-21_Dolakha

अन्य

भिडियो