बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले द्वन्द्वपीडितहरुको सत्य जान्न पाउँने अधिकार सुनिश्चित गर्न राज्य गम्भिर बन्नुपर्ने बताउनु भएको छ ।
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको १३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा भदौ १३ गते आयोजित ‘सत्य जान्न पाउने अधिकार विषयक’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले द्वन्द्वपीडितले न्यायको प्रत्याभुती गर्नका लागि राजनीतिक दल जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको थियो । श्रेष्ठले द्वन्द्वपीडित, नागरिक समाज, पीडितहरुको अधिकारका लागि आवाज उठाउँदै आएका संघ संस्थाहरुले राजनीतिक दलमा दवाब सिर्जना गर्दै उनिहरुलाई संवेदनशिल बनाउनु पर्ने बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एड्भोकेसी फोरम, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखा, न्यायको लागि द्वन्द्वपीडित समाज नेपाल, द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल र को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी द्वन्द्वपीडितहरुले बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग गर्दै हत्या गरिएकाको कारण जान्न पाउने आफ्नो अधिकार राज्यले कुण्ठित गरेको बताएका थिए । उनिहरुले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संघिय सांसदमा दर्ता भएको विद्येयक पास गरेर न्यायिक प्रक्रियामा परेको बाधा फुकाउन माग गरेका थिए ।

