आवुँखैरेनी गाउँपालिका-१ पोखरीटारमा बिरामीलाई उपचार गर्ने भवन नहुँदा चौरमै राखी उपचार गर्नु परेको छ । यातयातको साधनसमेत नपुगेको उक्त गाउँमा असार १८ गतेदेखि फैलिएको झाडापखलाका बिरामीलाई बाहिर चौरमै राखी उपचार गरिएको हो ।

आवुँखैरेनी स्वास्थ्य चौकीका इञ्चार्ज अगमराज उपाध्यायले गाउँमा बिरामीको उपचार गर्ने कुनै भवन नभएको र यातयातको साधनसमेत पुग्न नसक्ने हुँदा बाहिर चौरमै राखी उपचार गर्नु परेको बताए ।
उक्त गाउँमा फैलिएको झाडापखला नियन्त्रणमा नआएपछि असार २० गते दमौली अस्पतालबाट डा. प्रकृती भट्टराईको नेतृत्वमा स्वास्थ्यकर्मीको एक टोली उक्त गाउँमै गएर स्वास्थ्य परीक्षण र बिरामीको उपचार गरेको थियो । दलितबस्ती रहेको उक्त ठाउँमा मुलको पानी नउमालिकन पिएपछि उक्त गाउँका बालबालिकासहित २८ जनालाई झाडापखला लागेको थियो । बिरामी हुनेमा अधिकांश महिला छन् ।
अधिकांश गाउँलेलाई झाडापखाला भएपछि सोमबार आवुँखैरेनी स्वास्थ्य चौकीका इञ्चार्ज उपाध्यायको नेतृत्वमा चार जना स्वास्थ्यकर्मीले गाउँमै बसेर उपचार सुरू गरेका थिए । असार २० गते जिल्लाबाट थप स्वास्थ्यकर्मी आएर परीक्षण गरेपछि अहिले झाडापखाला नियन्त्रणमा आएको उपाध्यायले बताए ।

खानेपानीको अन्य श्रोत नभएपछि गाउँलेहरू सिधै मुलको पानी पिउन बाध्य भएका थिए । गाउँमै पुगेको स्वास्थ्यकर्मीको टोलीले गाउँलेहरूलाई औषधिको साथमा पानी सुद्धिकरण गर्ने औषधि पनि दिएको उपाध्यायले जानकारी दिए । बिरामीलाई स्वास्थ्य परीक्षण र उपचार गर्न भवन नभएपछि बाहिर चौरमा राखेर उपचार गरिएको उनले जानकारी दिए ।