INSEC Online

📅 २०८३ जेष्ठ २१

डाडाबाग आधारभूत विद्यालयमा तालाबन्दी, पठनपाठन प्रभावित

विद्यालय भवन निर्माणका क्रममा आफूहरुले गरेको काम बापतको ज्याला रकम नपाएको भन्दै नौगाड गाउँपालिका–२ तल्ला सुण्डमुण्डका मजदुरहरुले ०८० भदौ १० गतेदेखि डाडाबाग आधारभूत विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

विद्यालयमा मजदुरहरुले लगाएको तालाबन्दीका कारण विद्यालयको पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक गगनसिह ठगुन्नाले बताउनु भयो । विद्यालयसँग भवन अभाव छ । उपभोक्ता र मजदुरले एक्कासी विद्यालयमा तालाबन्दी गर्दा विद्यालयका आवश्यक कागजात समेत कोठा भित्रै रहेको, पाँच कक्षसम्म सञ्चालनमा रहेको यस विद्यालयमा १ सय २७ जना विद्यार्थी अध्ययनरत रहेका र भवन अभावले विद्यार्थीलाई पुरानो भवनमा राखेर पठनपाठन गराउनु पर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।

तालाबन्दीका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भएकोले उपभोक्ता समिति, मजदुर र स्थानीय तहका पदाधिकारीहरु बसेर तालाबन्दीको समस्या समाधान गर्न अग्रह गरिएको प्रधानध्यापक ठकुन्नाको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सरकारको समपुरक बजेट तथा थप गाउँपालिकाले बजेट व्यवहोर्ने गरी ०७८ पुस ५ गते भवन निर्माणको लागि सम्झौता भएको थियो । प्रदेश सरकारले दुई कोठे विद्यालय भवन बनाउने र एक कोठा थप गाउँपालिकाले बजेट व्यवहोर्ने गरी विद्यालय भवन निर्माण गरिएको थियो ।

भवन निर्माण कार्य ०७९ असार २४ गते सम्पन्न भएको भए पनि  स्थानीय सरकारले मजदुरहरुलाई तिर्नुपर्ने झण्डै ७ लाख रुपियाँ हालसम्म भुक्तानी नभएपछि बाध्य भएर विद्यालय भवनमा ताला लगाउनुपरेको स्थानीय बीरसिह ठगुन्नाले बताउनु भयो ।

हामीले काम गरेको एक वर्ष बढि भइसक्यो, उहाँले भन्नु भयो, तर, अझै पनि भुक्तानी हुने छाटकाट नदेखेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको हो । अहिले पनि स्थानीय सरकारले चासो दिएर ज्याला रकम भुक्तानी नगरेमा विद्यालयमा सधै ताला रहिरहने उहाँको भनाइ छ ।

विद्यालय भवन निर्माण गर्दाका पाउने पर्ने ज्याला रकम आफूले अहिलेसम्म पनि पाउन नसकेको मिस्त्री धनसिह धामीले दुखेसो पोख्नु भयो । ज्याला रकम भुक्तानी गर्न पटकपटक अनुरोध गरिएको भए पनि सुनवाई नभएपछि बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नु परेको उहाँले बताउनु भयो ।

निर्माण समितिले मजदुरको मात्रै २ लाख बढि रुपियाँ भुक्तानी गर्न बाँकी रहेको समितिका सचिव कासीसिह ठगुन्ना बताउनु हुन्छ । गाउँपालिकाले भुक्तानी नगर्दा आफूलाई समेत समस्या भएको उहाँले बताउनु भयो ।

नौगाड गाउँपालिका २ का वडाध्यक्ष नरेन्द्रसिह ठगुन्नाले गत वर्ष गाउँपालिकाले अनुगमन गरेर बजेट भुक्तानी नगरेका कारण समस्या उत्पन्न भएको र पछिल्लो समयमा आफूले निरन्तर दबाब दएिपछि कार्यपालिका बैठकले विद्यालयको अनुगमन मूल्याङ्कन गरी मजदुरहरुले पाउने रकम भुक्तानी गर्ने निर्णय गरेको बताउनु भयो ।

नौगाड गाउँपालिकाका अध्यक्ष दलजीतसिह धामीले विद्यालय भवन निर्माणसँगै पर्खाल लगाउनु पर्ने सम्झौता भए पनि उपभोक्ताहरुले पुरानो रकम भुक्तानी नभएको भन्दै पर्खाल नलगाएको बताउनु भयो ।

गाउँपालिकाले कार्य सम्पादन मुल्याङ्कन तथा विद्यालय अनुगमन गरेर वैङ्क खाता खोलेर भुक्तानी दिने तयारी गरिरहेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो