डेढ महिनादेखि विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै तत्काल शिक्षकको व्यवस्था हुनुपर्ने माग राखेर भदौ ११ गते बागचौर नगरपालिका– ३ स्थित अम्मरज्योती माध्यमिक विद्यालय र सोही नगरपालिका –११ स्थित शिशुकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले भदौ ११ गते विद्यालयमा तालाबन्दी गरेका हुन् । विगत केही दिनयता विद्यार्थीले एकपछि अर्को विद्यालयमा तालाबन्दी गर्दै आएका छन् ।
यस्तै गरी , सोही नगरपालिका–६ स्थित सरस्वती माध्यमिक विद्यालय भदौ १० विद्यार्थीले तालाबन्दी गरेका थिए । यसै बालकन्या माध्यमिक विद्यालय शहिद भरत स्मृति माध्यमिक विद्यालयमा समेत शिक्षक नहुँदा पठनपाठन अवरुद्ध भएको भन्दै विद्यार्थीले भदौ ४ गते विद्यालय तालाबन्दी गरेका थिए ।
बागचौर नगरपालिकामा यसअघि राखेका नगर अनुदानका शिक्षकलाई हटाएपछि नयाँ राख्न ढिलाई भएको र जसका कारण पठनपाठन प्रभावित भएको भन्दै बिद्यार्थीले विद्यालयमा ताला लगाएका हुन् । सरस्वती माध्यमिक विद्यालय जामुनेचौरमा कक्षा १० मा अध्ययनरत दुर्गाराम वलीले विगत डेढ महिनादेखि पठनपाठन अवरुद्ध हुँदा बाध्य भएर विद्यालयमा ताल्चा लगाउनुपरेको बताउनुभयो ।
‘नगरपालिकाले शिक्षामा राजनीति भर्यो, विद्यार्थीको भविष्यमाथि खेलवाड भर्यो, हाम्रो विद्यालयमा भएका ६ जना शिक्षकलाइ एकैपटक हटायो, पाँच जना शिक्षक पठाउँछु भनेको डेढ महिना भयो, तर अझै शिक्षक पठाउन सकेको छैन्, शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ, नपढेरै एसईई कसरी दिने ?’ । ‘सामाजिक विषय बाहेक अरु कुनै पनि विषयको पढाइ भएको छैन ।’ उहाँले भन्नुभयो ।
शिशुकल्याण माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत मधुसुधन वलीले अंग्रेजी र गणित बाहेक अरु कुनै पनि विषयको पढाइ डेढ महिना देखी नभएको बताउनुभयो । ‘हाम्रो विद्यालयमा एक वर्षदेखि सामाजिक विषयकाे सर हुनुहुन्न । , अंग्रेजी र गणित बाहेक अरु विषयमा प्राविमा पढाउने सरले बेला बखतमा कक्षा लिनुहुन्छ’ । ‘एसईई दिने विद्यार्थीले यस्तो पढाइबाट कसरी पास गर्ने ? त्यही भएर विद्यालयमा तालाबन्दी गरेका बताउनुभयाे ।
शिक्षक नहुँदा विद्यार्थीको पढाइ अस्तव्यस्त
विद्यालयमा पर्याप्त शिक्षक नहुँदा विद्यार्थीहरुको पढाइ अस्तव्यस्त बनेको छ । दरबन्दी अनुसारको शिक्षक नभएर समस्यामा परेका विद्यार्थी नगर अनुदानका शिक्षक पनि कटौती हुँदा थप समस्यामा परेका हुन् । सरस्वती माध्यमिक विद्यालय जामुनेचौरका प्रधानाध्यापक धनविर वलीले नगर अनुदान र निजी स्रोतमा रहेका ६ जना शिक्षक एकैपटक कटौती हुँदा समस्या भएको बताउनुभयो ।
‘विद्यार्थीले विषयगत शिक्षकको माग गरिरहेका छन्, हामीले शिक्षक आपुर्ति गर्नसक्ने अवस्था भएन्, असार महिनामा ६ जना शिक्षक एकैपटक हटाइएपछि समस्या भएको हो, नयाँ ५ जना शिक्षक आउने कुरा हो, तर अहिलेसम्म आएका छैनन्, नियमित पढाइ नभएकै कारण विद्यार्थीले ताल्चा लगाए’ उहाँले भन्नुभयो ।
सरस्वति माध्यमिक विद्यालय पेदीखोलाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृति बहादुर पुनले नगर अनुदानका शिक्षक हटाइएपछि यस विद्यालयको पठनपाठन पनि प्रभावित भएको बताउनुभयो । ‘मावि तर्फ गणित, नेपाली र सामाजिक तथा निमाविमा बिज्ञान बिषयको शिक्षक असारमा हटाइए, उनीहरुले पुनः नगरअनुदानको शिक्षकमा परीक्षा दिए, तर चारै जनाको नाम निस्केन’ उहाँले भन्नुभयो ।
शिक्षक छनौटमा नगरपालिकाको ढिलासुस्ती
बागचौर नगरपालिकामा ६८ वटा सामुदायिक विद्यालय छन् । नगरपालिकाले नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८० वमोजिम नगर अनुदानमा साउन ५ गते एक सय २५ जना शिक्षकको विज्ञापन खोल्यो । बालविकास सहजकर्ता १३ जना, प्रावि तह (१–५) ६५ जना, आधारभूत तह (६–८) २९ जना र मावि तहमा १८ जनाको माग गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यस अघि नियुक्त गरेका ६८ जना नगर अनुदानका शिक्षक असार महिनामा एकैपटक हटाएको थियो । नयाँ शिक्षक नियुक्तिका लागि प्रथम पत्रको परीक्षा सञ्चालन गरिए पनि बाँकी परीक्षा सञ्चालन गरेर छिटो भन्दा छिटो शिक्षक भर्ना गर्ने कार्यमा नगरपालिकाले ढिलासुस्ती गरेको छ ।
नगरपालिकाका सूचना अधिकारी तिर्थ राज डाँगीले अब चाँडै नयाँ शिक्षक छनौट गरिने बताउनुभयो । शिक्षकको परीक्षा केन्द्र तोकिएको थारमारे क्याम्पसमा क्याम्पसका विद्यार्थीको परीक्षा सञ्चालन भएकाले केही ढिलाइ भएको उहाँको भनाइ छ । उहाँले अबको केही दिनमा दोस्रो पत्रको परीक्षा पनि सञ्चालन गरिने बताउनुभयो । ‘दरबन्दी अनुसारका शिक्षक माथिबाट नै नपठाउँदा समस्या भएको हो, नगरपालिका शिक्षक भर्नाको प्रक्रियामा छ’ । उहाँले भन्नुभयो ।
वडा कार्यालयमा पनि विद्यार्थीको तालाबन्दी
तत्कालै विषयगत शिक्षकको माग गर्दै विद्यार्थीहरुले बागचौर नगरपालिका–११ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । सोही वडाको शिशुकल्याण माध्यमिक विद्यालय हारिचारमा अध्ययनरत विद्यार्थीले वडा कार्यालयमा पनि तालाबन्दी गरेका हुन् । विद्यालयमा नयाँ शिक्षक नआउँदा सम्म र पठनपाठन प्रभावकारी नहुँदा सम्म तालाबन्दी जारी रहने विद्यार्थीले जनाएका छन् ।
वडा अध्यक्ष केश बहादुर भण्डारीले शिक्षकको माग गर्दै विद्यार्थीले वडा कार्यालयमा तालाबन्दी गरेको बताउनुभएको छ । ‘मेयरसाप काठमाण्डौँमा हुनुहुन्छ, कार्यालय प्रमुखको सरुवा हुदैँछ , त्यही भएर शिक्षक छनौटमा ढिलाइ भएको बुझिएको छ’ उहाँले भन्नुभयो ।

