भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित ब्रह्मदेव उराँव मण्डेला आधारभूत विद्यालयकी ४३ वर्षीया प्रधानाध्यापक सुशीलाकुमारी उराँवले आफूलाई भदौ १० गते विद्यालय हाताभित्र कुटपिट भएको आरोप लगाउनु भएको छ ।
विद्यालयमा पठनपाठन भइरहेको समयमा व्यक्ति रिसइवी साँध्दै भोक्राहा नरसिंह गाउँपालिका-४ का ३६ वर्षीय एहसान अञ्सारी र ३४ वर्षीय नुरजाहा खातुनले विद्यालयभित्र प्रवेश गरी कुटपिट गरेको पीडितको आरोप छ ।
आफ्ना विद्यालयमा अध्ययनरत बालबालिका आरोपितको खेतको आली वा बाटो भएर आउने भएकाले सोही विषयलाई लिएर आफूलाई कुटपिट भएको प्रधानाध्यापक सुशीलाकुमारी उराँवले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
घटनाका आरोपितले भने प्रधानाध्यापक समयमा विद्यालय नआउने भएकाले सचेत गराएको बताउनु भयो ।
विद्यालय सञ्चालन भइरहेको समयमा घरेलु हातहतियारसहित विद्यालयमा प्रवेश गरी प्रधानाध्यापकलाई कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरिएको छ ।
नेपाल शिक्षक सङ्घ, सङ्घीय शिक्षक फोरम, लोकतान्त्रिक शिक्षक फोरम, नेपाल शिक्षक सङ्गठन, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल विद्यालय कर्मचारी सङघसहितका ६ ओटा सङ्घसङ्गठनले दोषीलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।
व्यक्तिगत रिसइवीलाई आधार बनाएर विद्यालय हाताभित्र प्रधानाध्यापकलाई कुटपिट र हुलुहज्ज गर्नेविरूद्ध कानुनी कारबाहीको माग गर्दै शिक्षक सङ्गठनले जिल्ला प्रशासन कार्यालयमा भदौ ११ गते ज्ञापनपत्र बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निराला भण्डारीले दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै आएको उजुरी र ज्ञापनपत्रका विषयमा अनुसन्धान भइरहेको बताउनु भयो ।
प्रधानाध्यापकमाथि भएको कुटपिट र दुर्व्यवहार घटनाप्रति विरोध गर्दै भोक्राहा नरसिंहमा क्रियाशील पेशागत सङ्गठनले विज्ञप्ति जारी गरी विरोध गरेका छन् ।
कुटपिटबाट सामान्य घाइते हुनु भएकी प्रधानाध्यापक उराँवको स्थानीय क्लनिकमा भदौ १० गते उपचार गरिएको छ ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन १९९८ ले शिक्षकलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।
