भरतपुर कारागार भित्र रहेका एक कैदी परीक्षा दिनबाट वञ्चित भएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलिले ०८० भदौ ६ गते कारागार अनुगमन गरेको छ । कारागार निमित्त प्रमुखसँग भेटघाट गरिएको राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारीले बताउनु भयो ।
कैदीबन्दीले शिक्षाको अधिकारबाट वञ्चित हुनु मानव अधिकारको उल्लङ्घन भएकोले यस विषयमा कारागार प्रशासनसँग सोधपुछ गरिएको उहाँको भनाइ छ । साथै सरोकारवाला निकाय जिल्ला प्रशासन, त्रिवि परीक्षा नियन्त्रण कार्यालयसँग पनि सोधपुछ गरिने उहाँले जानकारी दिनुभयो ।
‘कारागार प्रशासनको लापरवाहीले परीक्षा दिनबाट वञ्चित भए कैदीबन्दी‘ शीर्षकमा इन्सेक अनलाइनमा समाचार प्रकाशन भएको थियो । इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा आफूहरूको ध्यानाकर्षण भइ अनुगमनमा आएको प्रमुख अधिकारीले भन्नुभयो ।
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा बीए दोस्रो वर्षमा भर्ना भइ परीक्षा फाराम भरेका अभिषेक धमला परीक्षा दिनबाट वञ्चित हुनुभएको हो । त्रिभुवन विश्वविद्यालयले लिएको बीए तर्फ दोस्रो वर्षको परीक्षामा उहाँ सहभागी हुन पाउनुभएन । धमलाले बीए प्रथम वर्षको परीक्षा भने कारागारबाटै दिनुभएको थियो ।
परीक्षा नियन्त्रण कार्यालय र कारागार व्यवस्थापन कार्यविधि फरक पर्दा धमला परीक्षा दिनबाट वञ्चित हुनुभएको हो । यस अघिका वर्षहरूमा कारागार नै परीक्षा केन्द्र तोकेर कैदीबन्दीले परीक्षा दिने व्यवस्था थियो । तर यसवर्ष त्रिवि प्राज्ञिक परिषद्ले कारागार परीक्षा केन्द्र स्थगनको निर्णय गरेपछि समस्या भएको हो । यो निर्णय परिषदबाट ०७९ चैत २९ गते भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । सुरक्षा निकायको जिम्मेवारीमा मात्रै परीक्षा दिने व्यवस्था परिपत्रमा उल्लेख छ ।
कारागार व्यवस्थापन कार्यविधि २०७३ को परिच्छेद ३ को दफा ११ (९) मा कारागार नै केन्द्र तोकेर कैदीबन्दीले परीक्षा दिन पाउने व्यवस्था छ । तर परीक्षा नियन्त्रण कार्यालयले केन्द्र स्थगन गरेपछि आफूहरूले परीक्षा सञ्चालन गर्न नसकेको भतरपुर कारागारका निमित्त प्रमुख लेखनाथ पौडेलले बताउनु भयो । चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले सुरक्षा संवेदनशीलताका कारण परीक्षा केन्द्रमा लगेर परीक्षा दिने वातावरण मिलाउन नसकिएको बताउनु भयो ।