INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढी पहिरोबाट विस्थापित भएका परिवारलाई स्वास्थ्य उपचार र खानेपानीको अभाव

बाह्रविसे नगरपालिका-५, सिरिसेमा वर्षाका कारण बाढी पहिरोबाट त्रिपालको भरमा रात बिताइरहेका विस्थापित भएका ६ घर परिवारलाई स्वास्थ्य उपचार र खानेपानीको अभाव हुँदा समस्या भएको छ ।

सिरिसेमा निरन्तर वर्षाका कारण साउन ३२ गते राति खसेको पहिरोले एक घर बगाएको थियो भने ६ ओटा घर जोखिममा परेको थियो । विस्थापित परिवारलाई स्थानीय पञ्चकन्या सेतिदेवीको मन्दीरको प्रागणमा राखिएको छ ।

पहिरोबाट विस्थापित भएकाहरू भोटेकोशी नदि छेउको जङ्गलमा त्रिपालमुनि बस्नुपर्ने अवस्था छ । त्यसैगरी रोग लागेमा उपचारको लागि स्वास्थ्य संस्था नजिक छैन । पिउन योग्य खानेपानीको अभाव भएको पहिरोबाट विस्थापित ताराकृष्ण बस्नेतले जानकारी दिनुभयो ।

सिरिसेमा साउन ३२ गते राति आएको पहिरोबाट विस्थापित भएका ती ६ घर परिवारका आठ महिला सहित १९ जनाको जीवनयापन कष्टपूर्ण रहेको बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले बताउनु भयो । उक्त ठाउँमा विस्तापित परिवारलाई स्वास्थ्य उपचार र खानेपानीको व्यवस्थाका लागि सबैतिर पहल गरिरहेको प्रमुख बस्नेतले उल्लेख गर्नुभयो ।

गत वर्षको वर्षायाममा पनि त्यस भेगमा पहिरो आएर त्यहाँका नागरिकहरू विस्थापित हुन परेको थियो । सरकारले यहाँका नागरिकहरूलाई स्थायी रुपले बासको व्यवस्थापन गर्न नसक्दा यहाँका नागरिकहरूले हरेक वर्ष वर्षादमा विस्थापित जीवन बिताउनु परेको बाह्रविसे नगरपालिकाका पूर्व उपप्रमुख सुशिला पाख्रिनले जानकारी दिनुभयो ।

Photo_080-5-7_Sindhupalchok

अन्य

भिडियो