मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ ताङ्वे गाउँमा भदौ ३ गते राति आएको बाढीले मुहानसहितको खानेपानी तथा सिंचाई कुलो बगाएपछि खानेपानीको अभाव भएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष बिनोद गुरुङका अनुसार पछिल्लो एक हप्तादेखि गाउँमा खानेपानीको समस्या भएको छ । ४५ घरधुरी रहेको ताङ्वे गाउँमा खानेपानीका साथै सिंचाइ सुविधा पनि अवरुद्ध बनेको छ । एकै ठाउँबाट आएको पानीलाई शुद्धिकरण गरेर पिउन प्रयोग हुने भए पनि अहिले मुहानै बगाएको हुँदा समस्या भएको अध्यक्ष गुरुङले भन्नुभयो । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट खानेपानीको लागि बजेट परेको थियो तर काम हुन नपाउँदै मुहानै बगायो उहाँले बताउनुभयो ।
गएको वर्ष पनि दशैंको समयमा परेको अविरल वर्षाले खानेपानी बगाए पछि २५ लाखको लागतमा मर्मत गरी सञ्चालन गरिएको थियो अहिले पुनः बगायो अध्यक्षको भनाई छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—३ तोङ्वे र ग्रीन ताङ्वे गाउँबीचको ठाँडो खोलाले ताङ्वे गाउँको खानेपानी र सिंचाई कुलोमा ठूलो क्षति पु¥याएको थियो । ताङ्वे खोलाको बाढीले गाउँको खानेपानी र सिंचाइको संयुक्त मुहान र कुलो बगाएपछि त्यहाँको करिब ६ सय ५० रोपनी जमीनमा लगाएको स्याउ, फापर, आलुलगायतका बाली सिंचाई अभावमा सुख्खा भएर मर्ने अवस्था पुगेको वडा सदस्य कुन्जाङ्वा गुरुङले बताउनुभयो ।
सदस्य गुरुङका अनुसार ताङ्वे गाउँमा एउटै मुहानबाट खानेपानी र सिंचाइको व्यवस्था हुँदै आइरहेकोमा अहिले पानीको संकट पर्न थालिसकेको छ । मुहान बाढीले बगाएपछि पानी आउन छाड्यो तत्काल अर्को व्यवस्था भएनभने अर्को गाउँ गएर खानेपानीको व्यवस्था गर्नुपर्ने हुन्छ उहाँले भन्नुभयो ।
ताङ्वे खोला बाढीले खानेपानी बगाएपछि वडा सदस्य कुन्जाङ्वो गुरुङसहितको टोलीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपन मार्फत् ध्यानआर्कषण गराएको छ । बाढीले खानेपानी र सिंचाइको संयुक्त मुहानसहितको कुलो भएकाले खानेपानीको अभाव भएको जानकारी गराएका थिए । तत्कालका लागि वैकल्पिक व्यवस्थाको लागि पहल गरिदिन समेत प्रमुख जिल्ला अधिकारी अनुप केसीलाई ध्यानआर्कषण गराइएको छ ।