INSEC Online

📅 २०८३ जेष्ठ २१

सम्बन्धविच्छेद गर्नेहरुको सङ्ख्या वर्षेनी बढ्दै

जिल्लामा सम्बन्धविच्छेद गर्नेहरुको सङ्ख्या वर्षेनी बढ्दै गएको पाइएको छ । जिल्ला अदालत, अछामको पछिल्लो दुई वर्षको तथ्याङ्क अनुसार सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८ / ०७९ मा ३६ ओटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७९ / ०८० मा वढेर सम्बन्धविच्छेदका ४६ ओटा मुद्दा दर्ता भएको जिल्ला अदालत, अछामका स्रेष्तेदार शंकरप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

स्रेष्तेदार अधिकारीका अनुसार ४६ ओटा मुद्दामध्ये आर्थिक वर्ष २०७९ / ०८० मा ३८ ओटा मुद्दाको फछ्यौट भएको छ । फछ्र्याेट  हुन बाँकी रहेका आठ थान सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको जिम्मेवारी नयाँ अर्थात चालु आर्थिक वर्ष २०८० / ०८१ का लागि सरी आएको छ । चालु आर्थिक वर्षको साउन महिनामा सम्बन्धविच्छेदको लागि दुई ओटा मुद्दा दर्ता भएको स्रेष्तेदार अधिकारीको भनाइ छ ।

उहाँले भन्नु भयो– ‘जिल्ला अदालतमा दर्ता भएका मुद्दा मध्ये ४५ प्रतिशत सम्बन्धविच्छेदसम्बन्धी छन् । सम्बन्धविच्छेद बढ्नुमा महिला अधिकारप्रति सचेत हुँदै जानु, बालबिवाह, पारिवारिक झैँ–झगडा तथा बेमेल, आर्थिक असन्तुलन, वैदेशिक रोजगारजस्ता कारण रहेको पाइएको छ । सम्बन्धविच्छेदका अधिकांश मुद्दाहरुमा मिलापत्र गरेर टुङ्गिने गरका छन् ।’

विगतको तुलनमा हिंसा सहेर बस्नु हुदैन भन्ने चेतनाको विकास भएका कारण पनि सम्वन्धविच्छेदका घटनाहरु वढ्दै गएको जिल्ला अदालत वार एशोसियसन, अछामका सचिव एवंम् अधिवक्ता खड्क खड्काले बताउनु भयो । कतिपयले सामान्य विवाद पनि सहन नसक्ने र समझदारी कायम हुन नसक्दा सम्बन्धविच्छे्दका मुद्दा लिएर अदालत आउने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नु भयो– वैदेशिक रोजगारीका कारण पनि सम्वन्धविच्छेदका घट्नाहरु वढ्दै गएका र वैदेशिक रोजगारीको कारण महिला भन्दा पुरूष बढी पीडित रहेको पाइएको छ । पति वैदेशिक रोजगारीमा रहदा महिलाले अनैतिक सम्बन्ध बनाउने गरेका कारण पनि सम्बन्धविच्छेदका मुद्दा वढेका छन् । पतिले विदेशमा गएर कमाएको पैसा पत्नीले मास्ने, अन्य परपुरुषसँग सम्पर्क गर्ने कारण पनि सम्वन्ध विच्छेद हुने गरेका छन् । बालविवाह, वैदेशिक रोजगार, महिलामा आएको चेतनाको मुख्य कारण सम्बन्धविच्छे्दका मुख्य कारण रहेको पाइएको छ ।

आमाबुवाको सम्बन्धविच्छेदका कारण छोराछोरीमा नकारात्मक असर परेको जिल्ला वार एशोसियसन, अछामका सचिव खड्काको भनाइ छ ।

साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवरले महिलाहरुको आर्थिक अवस्था कमजोर हुनुले सम्बन्धविच्छेदका घटनाहरु बढ्दै गएको र आमाबुवाबिच सम्बन्धविच्छेद हुँदा पीडित हुनुपरेका बालबालिकाहरुको तथ्याङ्क संकलन गरी सहयोग गर्न सकिने बताउनु भयो ।

अन्य

भिडियो