कागबेनीमा साउन २८ गते आएको बाढीले खानेपानीका पाइपलाइन तथा धारा बगाउँदा स्थानीयहरुले खानेपानी को समस्या भोग्नुपरेको छ ।
कागबेनी क्षेत्रमा दुई किलोमिटर टाढा बाट ल्याएको खानेपानीको पाइपलाइन तथा धारा बाढीले बगाउँदा अवरुद्ध भएकोमा आज सम्म पनि सञ्चालनमा आउन नसकेको हो । चाँडो गरी खानेपानी सञ्चालन गर्ने गरि काम भै रहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो । जुन स्थानको मुलबाट कागबेनीमा खानेपानी वितरण भै रहेको थियो त्यही स्थानबाटै खानेपानी ल्याउने गरी काम भएको उहाँको भनाई छ । २ हजार मिटर पाइप बिच्छ्याई सकिएको र अरु पनि काम अन्तिम चरणमा पुगेकोले छिटै खानेपानी सञ्चालन हुने प्रजिअ केसीको भनाई छ ।
अहिले स्थानीयले मूल र नजिकैको खोलाबाट पानी भरेर ल्याएर उपभोग गर्दै आएका छन् । बाढीले कागबेनीका २९ ओटा घर, पाँच ओटा गोठ पुरा क्षति भएको छ भने १० ओटा घर र चार गोठमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी इन्सपेक्टर गोपिकृष्ण सुवेदीले बताउनुभयो ।
बाढीले २८ ओटा विधुतका पोल बगाउँदा उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका एवम् लो–घेकर दामोदरकुण्ड गाउँपालिका अन्धकारमय बनेको छ । विधुतका पोलसँगै तार समेत बगाएको हुनाले बत्ती सुचारु गर्नका लागि अझै केही दिन लाग्न सक्ने प्रजिअ केसीको भनाई छ । विधुत सञ्चालनका लागि पोल गाड्ने तथा नयाँ तार लगाउने जस्ता कार्य गर्नका लागि केही दिन लाग्ने भएकोले त्यसका लागि भने केही दिन पर्खन पर्ने अवस्था देखिएको छ ।
कागबेनीमा बाढीले गर्दा प्रहरी चौकी, मन्दिर, धर्मशाला लगायतका भौतिक संरचनामा क्षति भएको छ । ५० जना स्थानीय वासिन्दा पूर्णरुपमा विस्थापित भएका छन् भने, १ सय जना मजदुरहरु विस्थापित भएका छन् ।