INSEC Online

📅 २०८३ जेष्ठ २१

महानगरपालिकाका नगर प्रहरीद्वारा जनप्रतिनिधिहरूलाई दुर्व्यवहार गरेको आरोप

बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरूले आफूहरूलाई काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले हातपात र दुर्व्यवहार गरेको आरोप लगाएका छन् । काठमाडौँ महानगरपालिका-७ र बुढानिलकण्ठ नगरपालिका-१० को सिमानामा रहेको सात तले चोक नजिकैको ढलमा लगाएको स्ल्याब खोल्ने विषयमा आफूहरूमाथि काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले हातपात गरेको बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले इन्सेकलाई बताउनु भयो ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईले महानगरपालिकाले आफूहरूसँग समन्वय नगरी कपन हुँदै बगेको खहरे खोला खन्न गएकोमा विरोध गर्दा आफूमाथि नगर प्रहरीले हातपात गरेको उल्लेख गर्नुभयो । भट्टराईले आफूमाथि दुर्व्यवहार गर्दै लगाएको सर्ट च्यातिदिएको बताउनु भयो ।
News_080-4-25_Kathmandu

त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० की वडा सदस्य रिता दाहालले महानगरले क्षेत्राधिकार बाहिर बुढानिलकण्ठमा प्रवेश गरेर आफू र स्थानीयमाथि दुव्यर्वहार गरेको बताउनु भयो ।

वडा सदस्य दाहालले काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिर रहेको बुढानिलकण्ठमा प्रवेश गरेर खोला उत्खनन् गर्न लागेको विषयमा नगरपालिकासँग समन्वय गर्न अनुरोध गर्दा आफूलाई काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले लाठी प्रहार गरेको गरेको उल्लेख गर्नुभयो । महानगर प्रहरीको दुर्व्यवहारबाट आफ्नो लुगा च्यातिएको समेत दाहालको भनाई थियो ।

काठमाडौँ महानगरपालिका-७ र बुढानिलकण्ठ नगरपालिका-१० को सिमानामा रहेको क्षेत्रमा खोला अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने भन्दै काठमाडौँ महानगर प्रहरी डोजर लिएर गएको थियो । तर आफूहरूसँग कुनै समन्वय नगरी वर्षाको समयमा खोला उत्खनन् गर्न महानगर प्रहरीले डोजर लगेर आतङ्क सिर्जना गरेको भन्दै बुढानिलकण्ठ नगरपालिका-१०, कपनका जनप्रतिनिधि र स्थानीयले महानगरविरूद्ध विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनका क्रममा महानगर प्रहरी र बुढानिलकण्ठ नगरपालिका-१० का स्थानीयबीच झडप हुने स्थिति सिर्जना भएपछि नेपाल प्रहरीले कपनमा खोला उत्खनन् गर्न पुगेको काठमाडौँ महानगरपालिकाको डोजरको चाबी खोसेर स्थितिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले जानकारी दिनुभयो ।

News_080-4-25_Kathmandu..

अन्य

भिडियो