हरिपुर नगरपालिका–५ की २४ वर्षीया मोमिता कुमारी यादवलाई साउन १० गते २७ वर्षीय पति रामाशंकर यादव र ५२ वर्षीया सासू दिपिया देवी यादवले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा इलाका प्रहरी कार्यालय हरिपुरमा साउन २२ गते उजुरी दिनु भयो।
आरोपितहरूले पीडितलाई थप दाईजो नगद एक लाख रुपियाँ नल्याएको भन्दै कुटपिट तथा घरेलु हिंसा गरेकोे पीडितको ५४ वर्षीय बुबा बरहथवा नगरपालिका–५ का रासनारायण यादवले बताउनु भयो । विवाहमा दुई लाख रुपियाँ र एक तोला सुन दिएपनि थप दाइजो नल्याएको भन्दै पीडितलाई घरमा खानालाउन नदिनुका साथै पति र सासूले कुटपिट गर्ने गरेको उहाँको भनाइ रहेको छ ।
कुटपिटबाट घाइते भएकी पीडितको उपचार साउन ११ गतेदेखी १५ गतेसम्म सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको थियो र थप उपचार वीरगंजको नेशनल अस्पतालमा भएको थियो ।
घटना पश्चात आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका ईन्स्पेक्टर बिजय कुवरले जानकारी दिनु भयो ।