INSEC Online

📅 २०८३ जेष्ठ २१

दरबन्दी अनुसार बिशेषज्ञ चिकित्सक नहुँदा बिरामीहरू सेवाबाट वञ्चित

गुलरिया नगरपालिकास्थित बर्दिया अस्पतालमा दरबन्दी अनुसारको बिशेषज्ञ चिकित्सक नहुदाँ बिरामीहरू  बिशेषज्ञ सेवाबाट वञ्चित हुन परेको छ । अस्पतालमा बिशेषज्ञ चिकित्सक नहुदाँ जटिल रोगका बिरामी उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ ।

लुम्बिनी प्रदेश अन्र्तगत रहेको अस्पतालमा १५ जना चिकित्सकको दरबन्दी रहेता पनि चार जना डाक्टर मात्र कार्यरत रहेका छन् । अस्पतालमा नौ जना स्टाफ नर्सको दरबन्दी रहेकोमा चार जना कार्यरत छन् । यसैगरी, १३ जना प्यारामेडिक्सको दरबन्दी रहेकोमा आठ जना कार्यरत रहेको छन् ।

अस्पतालले ओपिडी, इमरजेन्सी, सर्जिकल ओपिडी/इन्डोसकोपि सेवा, बालरोग सेवा, प्रसुती तथा स्त्रीरोग, फिजियोथेरापी लगायतको सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा बिशेषज्ञ चिकित्सक नहुँदा हाडजोर्नी, मुटु, न्युरोरोग,  सिकलसेल, मानसिक रोग लगायत अन्य रोगका बिरामीहरू जिल्ला बाहिर जान बाध्य छन् ।

बारबर्दिया नगरपालिका– ५ का सन्जु चौधरीले  विशेषज्ञ चिकित्सक नहुदाँ  उपचार  र  नियमित चेकजाँचका लागि  भेरी अस्पताल  नेपालगञ्ज जानु पर्ने बाध्यता रहेको बताउनु  भयो । “आफूलाई  प्रेसरका कारण आँखा, हात, खुट्टामा  समस्या  देखिएकोले विशेषज्ञ चिकित्सकबाट  उपचार सेवा लिन  नेपालगञ्ज गइराख्नु पर्छ । नेपालगञ्ज आउन जान समय  लाग्छ ।  त्यसमाथि  लाइन बस्नु पर्ने  बाध्यता, यदि विशेषज्ञ चिकित्सक बर्दिया अस्पतालमा  भए सहज हुने थियो ।,” चौधरीले  भन्नु भयो ।

बर्दिया अस्पताल विशेषज्ञ चिकित्सक नहुदाँ आमाको  उपचारको  कोहलपुर  जाने  गरेको  गुलरिया नगरपालिका– २ का  राम  सुवेदीले  बताउनु  भयो ।  सुवेदीले आफूले व्यक्तिगतरुपमा पनि विशेषज्ञ चिकित्सक सहित सेवा प्रवाहकालागि संघ प्रदेश र स्थानीय तहसँग  अनुरोध गरेपनि समाधान नभएको बताउनु भयो ।

अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा १ लाख १५ हजार ७ सय  १८ जनाले उपचार सेवा लिएको पाइएको छ । त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा १ लाख ७ हजार ४ सय ७८ जनाले उपचार सेवा लिएका छन् । भने  आर्थिक बर्ष २०७७/०७८ मा ४५ हजार ९ सय ९६ जनाले उपचार सेवा  लिएका थिए ।

अस्पतालमा मेडिकल सुपरिटेण्डेन डाक्टर सुभाष पाण्डेले अस्पतालमा थप सेवा प्रदान गर्न  १५/२० जना चिकित्सक र ४० जना नर्सिङ स्टाफ  आवश्यक रहेको बताउनु भयो । उहाँले  समय अनुकुल, जनसंख्याको अनुपात, र सेवाग्राहीको संख्या हेरेर जनशक्ति व्यवस्थापन हुनुपर्ने बताउनु भयो ।

बर्दिया अस्पतालका अध्यक्ष नारायण गौतमले अस्पतालमा दरबन्दी अनुसार जनशक्ति व्यवस्थापन गरिदिन पटक पटक  मन्त्रालय र विभागसँग  आग्रह  गरेको जानकारी दिनुभयो । मन्त्रालय र विभागबाट डाक्टरको सङ्ख्या कम भएकोले व्यवस्थापन गर्न नसकिएको जवाफ आउने गरेको जानकारी दिनुभयो ।

समितीसँग सिमित स्रोत र साधन भएपनि समितीबाट ७० जना जनशक्ति व्यवस्थापन गरेको अध्यक्ष गौतमले जानकारी दिनुभयो । उहाँले ५९ जनाको दरबन्दी भएता पनि २३ जना कार्यरत रहेको जानकारी दिनुभयो । उहाँले तत्काल अस्पतालमा इन्टरनल मेडिसिन बिशेषज्ञ, हाडजोर्नी रोग बिशेषज्ञ, एनेस्थेसिया  बिशेषज्ञ, आवश्यक भएको जानकारी दिनुभयो ।

नेपालको संविधानको मौलिक हकको ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको भए पनि कार्यान्वयन नहुँदा नागरिकले सास्ती व्यहोर्नु परेको छ ।

अन्य

भिडियो