INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीपहिरो पीडितले घर निर्माणका लागि पाउनु पर्ने अनुदान रकम नपाउँदा समस्यामा

बाढीपहिरो पीडितहरुलाई सरकारले घर निर्माणका लागि प्रदान गर्नु पर्ने अनुदान रकम उपलब्ध नगराउँदा जिल्लाका बाढीपहिरो पीडितहरु समस्यामा परेका छन् ।

रामारोशन गाउँपालिका– ५ का हिक्मत शाहीले तीन वर्ष अघि कैलाश खोलामा आएको विनासकारी बाढीपहिरोका कारण आफू बच्च सफल भए पनि पत्नी गुमाउनु पर्‍यो । पत्नी सहित सम्पूर्ण धनसम्पत्ती खोलाले बगाएर लिएपछि घरवारविहिन हुनु भयो । डेढ वर्ष अघि राष्ट्रिय बिपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन विभागसँग भएको सम्झौता अनुसार घर निर्माण गरेका शाहीले हालसम्म पनि घर निर्माणबाफतको अनुदान रकम पाउन सकेपछि आफू समस्यामा परेको बताउनु भयो ।

“पत्नी गुमाउनुको पिडा एकातिर रहेको छ । अर्कातिर घर लगाउन लिएको ऋण तिर्न नसकेकर पिडामाथि झन पिडा थपिएको छ । अनुदान आउला र तिरौंला भनेर ऋण काढेर घर बनाए ।” उहाँले भन्नु भयो– “सरकारले गरेको सम्झौता अनुसार ४ लाख पाउनु पर्नेमा अहिलेसम्म ५० हजार मात्रै पाएको छु । घर निर्माणको लागि लिएको सापटि र साहुँको पैशा तिर्न नस्कदा निकै समस्या भएको शाहीको भनाइ छ । अहिले पनि साहुँको सिमेन्ट, सरियालगायत उदारोमा ल्याएको सामग्रीको पैशा तिर्न नसकेको बताउनु भयो ।

शाही जस्तै त्यहाँका ४९ जनाले समेत सम्झौता अनुसारको पैशा नपाउँदा समस्या भोग्नु परेको छ । तीन वर्ष अघि कैलाश खोलामा आएको विनासकारी बाढीपहिरोबाट प्रभावित परिवारलाई स्थानीय, प्रदेश र केन्द्र सरकारबाट घर निर्माणको लागि ४ लाख रुपियाँ अनुदान दिने भनेर सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार घर निर्माण गरेका अधिकाशंलाई समस्या भएको छ ।

सम्झौता अनुसार घर पूर्ण रुपमा निर्माण गरेका रामारोशनका हर्कबहादुर साउदले पनि अहिलेसम्म पहिलो किस्ताको ५० हजार वाहेक थप पैशा पाउनु भएको छैन् । गत माघ महिनामा घर निर्माण गरेबाफतको अनुदान रकम उपलब्धा गराइ दिन भन्दै गाउँपालिकादेखि जिल्ला प्रशासनमा धाउँदा समेत पैशा नपाउदा पिडामाथि पिडा थपेको साउदले बताउनु भयो ।

कैलाश खोलामा ०७७ भादौ २ गते आएको विनासकारी बाढीपहिरोमा उहाँको दाईका सात जना परिवारलाई कैलाश खोलाले बगाएको थियो । “ घर निर्माण सम्पन्न भएको लामो समय भइसक्दा समेत दोस्रो र तेश्रो किस्ताको रकम पाएको छैन । उहाँले भन्नु भयो –“दैनिक रुपमा साहुँहरुले फोन गरेर श्रmण रकम मागि रहनु भएको छ ।  अनुदानका लागि पटकपटक जिल्ला सदरमुकाम पुगेर रित्तै फर्कनुपरेको छ । अनुदानको लोभमा उल्टै धेरै खर्च भइसकेको छ । साउदले भन्नु भयो, ‘अनुदान रकम कहिले पाइने हो कुनै टुङ्गो छैन् ।’

यसैगरी अनुदान पाउने आशामा घर निर्माण सम्पन्न गरेका स्थानीय हिक्मत रोकायलाई शहकारी संस्थाले हैरानी दिन थालेका छन् । घर निर्माणको लागि व्याज लिएर घर निर्माण गरेका रोकायले पनि पहिलो किस्ता वाहेक दोस्रो र तेस्रो किस्ता अझै पाउन सकेका छैनन् । सरकारले ४ लाख रुपियाँ अनुदान दिने भनेर घर निर्माण गरिएको र घर निर्माण गर्दा सरकराले दिने भनेको अनुदान भन्दी बढी लगानि घर बनाउँदा खर्च भएको रोकायले बताउनु भयो । सरकारले गरेको सम्झौता अनुसार मात्रै रकम उपलब्ध गराएमा धेरै राहत हुने उहाँको भनाइ छ ।

रामारोशन गाउँपालिकामा ५० ओटा घर निर्माणको लागि सम्झौता भएको थियो । तिमध्ये १५ ओटा घर पूर्ण रुपमा सम्पन्न भएको गाउँपालिकाका ईन्जिनियर अन्जना श्रेष्ठले जानकारी दिनु भयो । १० ओटा घर पूर्ण रुपमा निर्माण भएको रिपोर्ट दुई महिना अघि जिल्ला प्रशासन कार्यालयमा वुझाएको भए पनि अहिलेसम्म स्थानीयले अनुदान नपाएको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘केन्द्र र प्रदेशबाट अनुदानको लागि पैशा जिल्ला प्रशासन कार्यालयको दैवि प्रकोप उद्धार कोषमा आउने गरेको छ । प्रमुख जिल्ला अधिकारीको सरुवा भइरहने कारण रामारोशन गाउँपालिकाका बाढीपहिरो पीडितलाई अनुदान वितरणमा ढिलाई भएको छ ।  अझै थप पाँच ओटा घर पूर्ण रुपमा निर्माणको रिर्पोट केही दिनमा जिल्ला प्रशासन कार्यालयका वुझाउने तयारी गरिहेकी छु । तेस्रो किस्ता वाफतको रकम पाउने १५ जना रहेका छन् । वाँकी दोस्रो किस्ताको रकम पनि धेरै जनाले पाउनु भएको छ ।’

प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेले सुदूरपश्चिम प्रदेश सरकारबाट अहिलेसम्म ६० लाख रुपियाँ आउन नसक्दा अनुदान वितरणमा ढिलाई भएको बताउनु भयो ।

उहाँले रामारोशन गाउँपालिकाको १० प्रतिशत बराबरको २० लाख रुपियाँ र संघ सरकारबाट प्राप्त हुने दोस्रो किस्ताको रकम प्राप्त भइसकेकोले केही दिन भित्र वितरण गरिने बताउनु भयो ।

बिपत प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०७७ अनुसार अस्थायी आवास निर्माणका लागि दुई किस्तामा ५० हजार रुपियाँ र पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा तीन किस्तामा गरेर ३ लाख रुपियाँ प्रदान गर्ने व्यवस्था गरिएको छ ।

२०७७ साउन १३ गते र भदौ २ गते गएको बाढीपहिरोका कारण रामारोशनमा १७ जनाको मृत्यु समेत भएको थियो ।

अन्य

भिडियो