सिरहाको भगवानपुर गाउँपालिकामा असार १३ गते दिउँसो भगवानपुर गाउँपालिका-१ की २९ वर्षीया रामकला यादवलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका ३० वर्षीय पति बालकृष्ण यादवलाई गिरफ्तार गरेको छ ।
घरायसी विवादमा बालकृष्णले प्रहार गरेको खुकुरी घाँटीमा लागेर रामकलाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याइएको डिएसपी पाण्डेले बताए । पत्नीको हत्या गरेको घटनाका आरोपित बालकृष्ण लागुऔषध मुद्दामा जेल सजाय भुक्तान गरी केही दिनअघि मात्र घर फर्केका थिए । दुई छोरी र एक छोराकी आमा रामकलाको बालकृष्णसँग करिब ९ वर्षअघि विवाह भएको थियो ।