आलिताल गाउँपालिका–१ स्थित मालागाँउ र भोकागाउँका स्थानीयहरु पहिरोको त्रासले एक हप्तादेखि विद्यालय भवनमा कष्टकर रुपमा बस्न बाध्य भएका छन् ।
अत्याधिक वर्षाका कारण गाउँमाथिको डाँडाबाट ढुङ्गा खस्न सुरुभएपछि मालागाउँ र भोकागाउँका २२ परिवार साउन ८ गतेदेखि गाउँनजिकैको जनज्योति आधारभूत विद्यालय, सियलामा बालबालिका सहित कष्टकर जिवन जिउन बाध्य हुनु परेको स्थानीय मानमती चुनाराले दुखेसो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘पानी परीरहेकोले चिसो बढेको छ । विद्यालयको चिसो भुईमा बस्नु परेको छ । बालबालिकाहरु बिरामी परेका छन् । खानबस्नको पनि निकै समस्या भएको छ ।’
विगतका वर्षहरूमा पनि गाउँमाथिबाट निरन्तर पहिरो खसिरहने र आफूले बस्तीनै स्थानान्तरणका लागि वडा कार्यालयलाई अनुरोध गरेको भएपनि सुनवाई नभएका कारण प्रत्येक वर्ष आफूहरुले सास्ती खेप्नु परेको स्थानीय रमेश चुनाराले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘२०७७ साल असोज र कार्तिक महिनामा आएको पानीले पहाडनै चर्किएको थियो । अहिले पानी पर्दा माथिबाट ढुङ्गा खसिरहेका छन् । यदि पहाड नै सरेर आयो भने धनजनको ठूलो क्षति हुन्छ । राज्यले हाम्रो व्यवस्थापन गर्नु पर्छ ।’
वर्षाका कारण गाउँमाथिबाट बस्तीमा नै पहिरो झरिरहेकाले स्थानीयबासीहरुको सुरक्षाका लागि सुरक्षाकर्मी र जनप्रतिनिधिको सहयोगमा नजिकै रहेको विद्यालयमा सारिएको वडा नम्बर १ का वडाध्यक्ष यज्ञबहादुर देउवाले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो– ‘२२ परिवारका ५४ बालबालिका सहित १ सय २८ जना विद्यालयमा अस्थायी रुपमा बसिरहनु भएको छ । उहाँहरुको व्यवस्थापनका लागि पहल पनि भइरहेको छ ।’
बाढीपहिरोबाट बस्तीनै जोखिममा रहेकोले बस्ती स्थानान्तरणका लागि प्रदेश र केन्द्र सरकारसँग पहल भइरहेको र पहिरोका कारण विस्थापितहरुको व्यवस्थापनका लागि नगरपालिकालाई अनुरोध गरिएको समेत प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताउनु भयो ।
उहाँले पहिरो पीडितका लागि गृह मन्त्रालयसँग २२ थान चाइनिज टेन्ट, १ सय थान त्रिपाल र १ सय थान ब्ल्याङ्केट उपलब्ध गराइ दिन अनुरोध गरेको र प्राप्त भएलगत्तै उहाँहरुलाई वितरण गरिने बताउनु भयो ।

