अविरल वर्षाका कारण आएको पहिरोले एक महिना अगाडि चर्किएको खप्तड छेडेदह गाउँपालिका–१ स्थित खप्तड आधारभूत्त विद्यालयको भवन मर्मत तथा पुनर्निर्माण नहुँदा बालबालिकाहरुको पठनपाठन प्रभावित भएको छ ।
विद्यालय भवनको पछाडिबाट ०८० असार २२ गते राति पहिरो गएपछि विद्यालय चर्किएकोले पठनपाठन सुरु गर्न जोखिम हुने भएकोले विद्यार्थीको पढाई प्रभातित भएको विद्यालय व्यावस्थापन समिति अध्यक्ष विरबहादुर रोकायाले इन्सेक प्रतिनिधिसँगको फोनसम्पर्कमा बताउनु भयो ।
विद्यालय पछाडिबाट पहिरो आउँदा विद्यालयको भवन चर्कीएको र कक्षा कोठा भित्र पानी पसेर भित्र बस्न नसकिने अवस्था रहेकोले पठनपाठनमा समस्या उत्पन्न भएको विद्यालयका प्रधानान्यापक चक्रप्रसाद जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘जोखिम अवस्थामा रहेको भवनमा कसरी पढाउने ? यसमो मर्मत पनि हुन सकेको छैन् । वर्षातको समय छ । पानी आउने बितिकै विद्यार्थीलाई घर पठाउनु पर्ने बाध्याता छ । कति बेला माथिबाट पहिरो आएर पुरै विद्यालय ढाकिन्छ भन्ने डरले त्रसित छौँ ।’
खप्तड छेडेदह गाउँपालिका–१ का वडाध्यक्ष बिरबहादुर रावलले पहिरोले क्षति पुगेको विद्यालयको मर्मत तथा पुनर्निर्माणका लागि वडा कार्यालयको बजेटले नपुग्ने भएकोले स्रोत व्यवस्थापनका लागि गाउँपालिकालाई जानकारी गराएको बताउनु भयो ।
विद्यालय जोखिममा भएको जानकारी प्राप्त भएको र आर्थिक वर्ष पनि भर्खरै सुरु भएकोले विद्यालय मर्मत तथा पुनर्निर्माणका लागि तत्काल बजेट विनियोजन गरी विद्यालयको पठनपाठन सुचारु गर्ने व्यवस्था गरिने खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले बताउनु भयो ।
कक्षा १ देखि ५ कक्षासम्म सञ्चालनमा रहेको यस विद्यालयमा १ सय ५० जना छात्रछात्रा अध्ययनरत रहेका छन् ।