INSEC Online

📅 २०८३ जेष्ठ २१

राज्यको सेवा सुविधाबाट वञ्चित बिच्छ्याबासी

हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ तथा साविकसको बिच्छ्या गाविसका नागरिकहरु राज्यबाट पाउने सामान्य सेवा सुबिधाबाट समेत वञ्चित हुँदै आएका छन् ।

सडक सञ्जाल, विजुलीबत्ती, विद्यालय, स्वास्थ्य उपचार सेवाजस्ता अधारभूत अधिकारबाट समेत आफूहरु वञ्चित हुँदै आएको स्थानीय अर्जुन रोकायाले दुखेसो पोख्नु भयो ।

निर्वाचन गर्ने, सरकार बनाउने र कार्यालय सञ्चालन गर्ने वाहेक अन्य थप सुविधा तथा विकासका कार्यहरु हुन नसक्दा बिच्छायाबासीहरुले कष्टकर जिवन बिताउनु परेको स्थानीय रोकायको भनाइ छ ।

कवाडी भन्दा केही परको क्षेत्रसम्म कर्णाली करिडोरको बाटो पुगेको भए पनि बिच्छाय क्षेत्रमा सडक सञ्जाल नहुँदा बिरामीहरुलाई बोकेर स्वास्थ्य सस्था पुराउनु पर्ने बाध्यता रहेको स्थानीय परिमल रोकायले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँपालिकाले दिने सुविधा लिनकै लागि बिच्छायबासीले दुई दिनको पैदल हिँड्नु पर्ने बाध्यता छ । जङ्गल र भीरको बाटोमा एक्लो हिँड्ने अवस्था छैन् । सिफारिसकै लागि दुई दिन काट्नु पर्ने अवस्था छ । कस्ले बुझीदिने हाम्रा दुःख ? सिंहदबार घरघर पुग्थ्यो भन्दा झन हाम्रा दुःख थपिए ।’

स्थानीय सरकारसँग बाटो बनाउनका लागि प्रयाप्त बजेट नभए पनि हिमाली गाउँपालिकाले बिच्छ्या क्षेत्रको विकासका लागि पहल नगरेको स्थानीयहरुको आरोप छ ।

बिच्छाय क्षेत्रमा पुलपुलेसा नहुँदा वर्षातको समयमा उर्लिदो खोलामा ज्यान जोखिममा राखेर स्थानीयहरु आवतजावत गर्न बाध्यछन् । माथिबाट ढुङ्गा र पहिरो खस्ने बाटोका कारण बालबालिका, महिला तथा अशक्त व्यक्तिहरुले थप सास्ती खेप्नु परेको छ  । सञ्चार सुविधा र विजुली नहुँदा स्थानीयहरु अन्धकारमा जोखिमपूर्ण जिवन बाच्न बाध्य छन् । विद्यालय सञ्चालन हुने नहुने टुङ्गो नहुँदा यस क्षेत्रका बालबालिकाहरुको पठनपाठन नियमित छैन् ।

हिमाली गाउँपालिकाका तीन ओटा वडा रहेको बिच्छ्यामा २०७८ सालको जनगणना अनुसार ३ हजार ३ सय ७१ जनसङ्ख्या रहेको छ । यस क्षेत्रका स्थानीयले हिमाली गाउँपालिकाको केन्द्रमा पुग्न हिँडेरै आउनु पर्ने बाध्यता रहेको छ ।

लामो समयदेखि बिजुली बाल्ने सपना भए पनि अझै बिजुली बाल्ने सपना पुरा नभएको स्थानीय धर्मबहादुर रोकायाले गुनासो गर्नु भयो ।

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना मार्फत फिल्यान्ड सरकार, युरोपियन युनियन, गाँउपालिका र स्थानीय श्रमदानमा तीन वर्ष अगाडि परियोजना सञ्चालन गरेको भए पनि परियोजना सञ्चालन भएको दुई वर्षमै ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले काम गर्न नसक्ने भनेपछि बिच्छ्याबासीको बिजुली बाल्ने सपना अधुरै रहेको बिच्छ्या खोला लघुजलविद्युत बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष धर्मबहादुर रोकायाले बताउनु भयो ।

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले काम नगर्ने भएपछि स्थानीयहरुको बिजुली बाल्ने सपना अधुरै रहेको भए पनि हाल गाउँपालिकाको सहकार्यमा कादुरी एग्रिकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल संस्थासँग पहल भइरहेको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्दबहादुर मल्लले बताउनु भयो ।

उहाँले बिच्छ्याबासीका आधारभूत अधिकारको संरक्षण गर्नका लागि गाउँपालिकाले योजनाहरु निर्माण गरिरहकोले केही वर्षभित्रै आधारभूत अधिकारको सुनिश्चितता हुने बताउनु भयो ।

अन्य

भिडियो