कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका—४ गुगल फ्यामीली रेष्टुरेण्टका सञ्चालक ३८ वर्षीय सुरेश वडायकले सिआइबी प्रहरी बविन भट्ट, सिपी पाण्डे र भारतिय नागरिक सन्दिप गुप्ताले आफूमाथि असार २८ गते राति वियरको बोतल प्रहार गरी घाइते बनाएको आरोप लगाएका छन् ।
आफू रेष्टुरेण्टमा बसिरहेको बेला असार २८ गते ग्राहकको रुपमा आएका तीनै जना प्रहरीले रक्सी पिएर आपसमा झगडा गर्न थालेपछि होहल्ला तथा झगडा नगर्न आग्रह गरी भगडा छुट्टाउन लाग्दा बोतल प्रहार गरेर घाइते बनाएको पीडितको अरोप छ ।
घटनामा संलग्न तीनै जना विरुद्ध असार २९ गते ईलाका प्रहरी कार्यालय, बेलौरीमा ठाडो निवेदन दिएर धनगढीस्थित निसर्ग अस्पतालमा उपचार गर्न आएको पीडित बडायकले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । उहाँले उपचार गरेर फर्किसकेपछि किटानी जाहेर पनि दिने तयारी गरेको बताउनु भयो ।
पीडित पक्षको उजुरी नआए पनि प्रहरी कर्मचारीहरुलाई प्रदेश प्रहरी कार्यालयमा झिकाई सोधपुछ तथा घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, बेलौरीका सई प्रकाश जोशीले बताउनु भयो ।
घटना बारे सोधपुछ गर्नका लागि कर्मचारीहरुलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको भए पनि सबै सूचना आउन बाँकी रहेकोले अहिले केही भन्न नसकिने प्रदेश प्रहरी कार्यालय, धनगढीका एसपी श्याम चौधरीले बताउनु भयो ।
पीडितको प्राथमिक स्वास्थ्य उपचार स्थानीय मेडिकलमा गरेर थप उपचार धनगढीस्थित निसर्ग अस्पतालमा भइरहेको छ ।
