कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रूपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएको रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएको हो ।


न्यायधीश सपना मल्ल प्रधानको ०८० असार २७ गतेको इजलासले रिटको सुनुवाइपछि मुख्यमन्त्री नियुक्त भएका थापालाई मुद्दाको किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनैपनि निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।
सर्वाेच्चले यो रिटमा थापाले मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्दा बुझाएका प्रदेशसभा सदस्यहरूको समर्थन, दाबी, हस्ताक्षरलगायतका कागजात र प्रदेश प्रमुख परशुराम खापुङ्गले गरेको नियुक्तिको निर्णयको सक्कल ०८० साउन ३ गतेभित्र झिकाउन आदेश दिएको छ । त्यसपछि साउन ७ गते पेशी तोक्न र निरन्तर सुनुवाइ गर्न पनि आदेश दिएको छ । साउन ७ गतेदेखि मुद्दाको निरन्तर सुनुवाई हुने आदेशमा उल्लेख छ ।
रिटमा संविधानको धारा १६८ (२) अनुसार थापाको नियुक्त अवैध भएकोले खारेज गरी धारा १६८(३) अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसहित हिक्मतकुमार कार्कीले रिट दायर गर्नु भएको थियो ।
कार्कीको रिटमा थापाले सभामुखसमेतलाई जोडेर दावी पेश गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री थापालाई विपक्षी बनाइएको छ ।
रिटमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरू सतिशकृष्ण खरेल, रविनारायण खनाल, सुरेन्द्र भण्डारी, टिकाराम भट्टराई, अमर थापा, केदारप्रसाद दाहाल, कृष्णभक्त पोखरेल र रमेश खरेलसहितले बहस गर्नु भएको थियो ।