लम्कीचुहा नगरपालिका–४ भल्काकी ४० वर्षीया गोमा रावललाई २०८० असार २५ गते ईलाक प्रहरी कार्यालय, लम्कीबाट आएको प्रहरी टोलीले गिरफ्तरा गरी हिरासतमा राखेर कुटपिट तथा याताना दिएको पीडित पक्षको आरोप छ ।
विगतका घटना बारे सोधपुछ गर्ने भनेर आमालाई असार २५ गते प्रहरीले घरबाट लगेर हिरासत मै कुटपिट गरी यातना दिएको पीडितकी छोरी बबिता रावलले असार २७ गते इन्सेक प्रदेश कार्यालय, धनगढीमा उपस्थित भएर दुखेसो पोख्नु भयो ।
आमालाई प्रहरी हिरासतमा भेट्न जाँदा प्रहरीले कुटपिट गरी घाइते अवस्थामा राखेको, उपचारका लागि अस्पताल समेत नलगि प्रहरी हिरासतमै राखिएको र आफूलाई समेत गालिगलौज गरेर पठाएकोले आवश्यक सहयोग गरी दिन भन्दै पीडितकी छोरीले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा असार २७ गते निवेदन समेत दिनु भएको छ ।
पीडित पक्षले दिनु भएको निवेदनका अधारमा प्रहरी हिरासतमा महिलालाई यातना दिनु गम्भिर मानव अधिकार उल्लङ्घन भएकाले भन्दै घटना बारे सत्यतथ्य अनुसन्धानका लागि राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा सिफारिस गरिएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीले बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख हरि ज्ञावलीले घटना बारे स्थलगत अनुगमन गरी पीडित र प्रहरीसँग छलफल गरेर मात्रै सथ्यतथ्य जानकारी लिन सकिने बताउनु भयो ।