INSEC Online

📅 २०८३ जेष्ठ २१

चोरी आरोप स्वीकार गर्न दबाब दिएर प्रहरीले यातना दिएको पीडित पक्षको आरोप

हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका १६ वर्षीय बालकलाई चोरी आरोप स्वीकार गर्न दबाब दिएर हिरासत कक्षमा प्रहरीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

Photo 20230711 sunsari (1)

मोटरसाइकलको पार्टपूर्जा चोरी गरेको आरोपमा प्रहरीले बालकलाई ०८० असार २५ गते गिरफ्तार गरेको र सोही दिन हिरासत कक्षमा चोरी आरोप स्वीकार गर्न दबाब दिएर यातना दिएको पीडित पक्षको आरोप छ ।

प्रहरीको कुटपिटबाट छोराको शरीरमा निलडाम र चोट देखिएको बालककी ३९ वर्षीय आमाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

चोरी आरोप पुष्टि हुन नसकेपछि बालकलाई असार २५ गते नै छाडिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो ।

घटनाको विरोधमा पीडित पक्षले असार २६ गते जिल्ला प्रहरी कार्यालय घेराउ र पूर्वपश्चिम लोकमार्गको इनरूवा सडक खण्ड अवरूद्ध पारेपछि प्रहरीले कुटपिट घटनाको छानविन गर्ने भएको छ ।

डिएसपी राजकुमार राईले हिरासतमा कुटपिट भएको विषयमा छानविन गर्ने भएपछि पीडित पक्षले आन्दोलन रोकेको छ ।

पत्रकार लुकमान अञ्सारीले प्रहरीले हिरासतमा यातना दिएपछि पीडित पक्षले प्रहरीविरूद्ध नारावाजी गरेको बताउनु भयो ।

अनुसन्धानका लागि हिरासतमा रहेको अवस्थामा बालक भाग्ने क्रममा लडेर घाइते भएको प्रहरीको भनाइ छ ।

यातनाबाट घाइते भएका बालकको असार २५ गते इनरूवामा रहेको एक क्लिनिकमा उपचार गरिएको छ ।

अन्य

भिडियो