गैडहवा गाउँपालिका–५ सिहवाकी २४ वर्षीया मेनका यादवलाई आत्महत्या दुरूत्साहन गरेको आरोपमा प्रहरीले मृतकका पति २९ वर्षीय ओम प्रसाद यादवलाई असार १७ गते गाउँबाटै गिरफ्तार गरेको छ ।
मेनका आफ्नै घरमा सलको पासो लगाएको अवस्थामा ०८० वैशाख २३ गते मृत अवस्थामा भेटिनु भएको थियो । घटना पछि आरोपित यादवले पत्नीले आत्महत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय, लुम्बिनीमा खबर गरेपछि शवको पोष्टमार्टम वैशाख २४ गते भीम अस्पताल भैरहवामा भएको थियो ।
घटनाका विषयमा मृतकका दाजु नवलपरासी जिल्ला सुनवल नपा– २ का ३७ वर्षीयसुभास चन्द्र यादवले बहिनीलाई पटक पटक दाइजोका कारण कुटपिट तथा यातना दिदै आएको र सम्झाउदै पठाउदै गरेकोमा सहन नसक्ने गरी यातना दिएर आत्महत्या गर्न बाध्य बनाएको भन्दै असार १६ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा आत्महत्या दुरूत्साहन कसुरमा उजुरी दिनु भयो ।
दाइजो कम ल्याएको भन्दै कुटपिट र यातना दिएको कारण यातना सहन नसकेर आत्महत्या गरेको उजुरी आएपछि आत्महत्या दुरूत्साहन कसुरमा उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताउनु भयो ।