INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा तीनजना गिरफ्तार

महदेवा गापा-१ पकरीस्थित नरबहादुर थापा मा. वि. सोनराका प्रधानाध्यापक प्रदिपकुमार चौधरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५२ वर्षीय हरिनारायण यादव, ३७ वर्षीया राखी यादव र ३० वर्षीया निशा यादवलाई असार ८ गते गिरफ्तार गरेको छ ।

प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै मोसो दल्ने र जुत्ताको माला लगाउने प्रयास गरेको आरोपमा गिरफ्तार गरिएका आरोपितहरूका विरूद्ध केही सार्वजनिक अपराध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादवराज उप्रेतीले बताए ।

डिएसपी उप्रेतीका अनुसार प्रअ चौधरीमाथि दुर्व्यवहार गर्नेहरूबाट भएको मोसो दल्ने र जुत्ताको माला लगाउने प्रयास भने प्रहरीले हस्तक्षेप गरी विफल वनायो ।

घटना पश्चात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र यादवले आरोपितहरू विरूद्ध असार ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

प्रधानाध्यापक चौधरीले विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा छात्रवृत्ति वितरण, पाठ्यपुस्तक खरिद, भवन निर्माणलगायतका शीर्षकमा भएको आर्थिक अनियमितताको छानबिन हुनुपर्ने माग गर्दै असार ७ गते तालाबन्दी गरेका थिए ।

प्रअको कार्यकक्षमा लगाइएको ताला व्यवस्थापन समितिका केही पदाधिकारीले फुटाई दिएपछि आरोपितहरूको समूह असार ८ गते पुनः तालाबन्दी गर्न पुगेको थियो ।

तालाबन्दी गर्न गएको समूह र उनीहरूलाई रोक्ने पक्षबिचको विवादले तनावको स्थिति उत्पन्न भए पनि तत्कालै पुगेको प्रहरीले साम्य पारेको प्रहरी चौकी पकरीका असई मानबहादुर तामाङले बताए ।

आर्थिक अनियमितताको छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर पुनः दोश्रो पटक तालाबन्दी गरिएको स्थानीय अभिभावक विनोदकुमार यादवले वताए ।

पटकपटक विद्यालयमा गरिएको तालाबन्दीका कारणले विद्यालयको पठनपाठनसमेत प्रभावित हुँदै आएको स्थानीय अभिभावकहरूको गुनासो छ ।

अन्य

भिडियो