INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन तथा ओसारपसार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवती र २७ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार प्रयास गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–६ ऐठपुरका ३५ वर्षीया गिता जोशीलाई असार १३ गते गिरफ्तार गरेको छ  ।

घटनामा संलग्न श्याम जोशी भारतमा काम गर्दै आइरहेको भन्ने सूचना प्राप्त भएकोले उहाँका बारेमा पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।

युवती र महिलालाई  रोजगारी दिलाइ दिने प्रलोभनमा गड्डाचौकी नाका भएर भारत लैजाँदै गरेको अवस्थामा सीमा क्षेत्रमा चेकजाँच गर्दा शंकास्पद देखिएपछि आरोपित गिता जोशीलाई असार १० गते नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको माईती नेपालका इन्चार्ज महेश्वरी भट्टले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित पक्षको उजुरीको आधारमा मानव बेचबिखन तथा ओसारपोसार अन्तर्गत असार १४ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी डाँगीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितहरुको स्वास्थ्य परीक्षण असार १४ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको थियो ।  पीडित दुबै जनालाई हाल माईती नेपाल र महिला थ्रिएन्जलको सुरक्षित आवास गृहमा राखिएको छ ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ मा मानिस बेच्ने र किन्ने व्यक्तिलाई २० वर्ष कैद र २ लाख रुपियाँ जरिबाना,  विदेशमा लैजानेलाई १० वर्षदेखि १५ वर्ष कैद र ५० हजारदेखि १ लाख रुपियाँसम्म जरिबाना र बालबालिका लगेको भए १५ वर्षदेखि २० वर्ष कैद र १ लाख रुपियाँदेखि २ लाख रुपियाँसम्म जरिबानाको व्यवस्था गरिएको छ ।

अन्य

भिडियो