INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडितहरुको न्यायमा पहुँच अभिबृद्धि गर्न इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडितलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले असार १२ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

ओरेक नेपालको सेफ हाउसमा बस्दै आइरहेका दुई जना पीडितलाई न्यायिक प्रक्रियामा जानका लागि सहयोग गर्न आर्थिक सहयोग प्रदान गरिएको हो ।

पीडित महिला र बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै ओरेकले इन्सेकलाई सहयोगका लागि सिफारिस गरेपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप जनही ८ हजार रुपियाँ प्रदान गरेको हो ।

३० वर्षीया महिलालाई ०७९ चैत २९ गते बलात्कार गरेको आरोपमा कैलारी गाँउपालिका–२ का ३७ वर्षीय सुवर्ण चौधरी विरुद्ध पीडित पक्षले चैत ३० गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनु भएको थियो ।

पीडित बालिकाको स्वस्थ्य परीक्षण चैत ३० गते सेती प्रादेशिक  अस्पताल, धनगढीमा गरिएको थियो ।

यसैगरी १६ वर्षीया बालिकालाई ०८० वैशाख ४ गते बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका—११ पेरहनी २१ वर्षीय अविनाश चौधरी विरुद्ध पीडित पक्षले वैशाख ५ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनु भएको थियो ।

पीडित बालिकाको स्वस्थ्य परीक्षण वैशाख ५ गते सेती प्रादेशिक  अस्पताल, धनगढीमा  गरिएको थियो ।

पीडितलाई न्यायिक प्रकृयामा जान आर्थिक अभाव भएपछि सहयोग गरिदिन इन्सेकलाई सिफारिस  गरिएको ओरेककी वरिष्ठ कार्यक्रम अधिकृत गिता चौधरीले बताउनु भयो ।

आर्थिक समस्याका कारण पीडितले न्याय पाउनबाट वञ्चित हुन नपरोस र पीडितको न्यायमा सहज पहुँच  पुगोस्  भन्नका लागि इन्सेकले आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

मुद्दा कानुनी प्रक्रियामा रहेकाले न्यायका लागि लड्न आत्मबल बढाइ आर्थिक अभाव झेलिरहेको आवस्थामा आर्थिक सहयोग प्रदान गरेकोमा पीडित पक्षले इन्सेकलाई धन्यवाद व्यक्त गर्नु भयो ।

अन्य

भिडियो