कथित बोक्सी आरोप कसुरमा दोषी हठर गर्दै जिल्ला अदालतले लमजुङको राइनास नगरपालिका-३ का ४२ वर्षीय विष्णु भन्ने विमल परियार र धादिङको धुनीबेसी नगरपालिका-५ की ३८ वर्षीया मुना परियारलाई असार ११ गते जनही दुई वर्ष कैद सजाय फैसला गरेको छ ।
जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले घटनामा दोषी ठहर गर्दै जनही दुई/दुई वर्ष कैद सजाय, २२/२२ हजार जरिबाना र पीडितलाई एक लाख रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार खुम भण्डारीले जानकारी दिनुभयो ।
धुनीबेसी नगरपालिका स्थित आफ्नै घरमा ४९ वर्षीया महिलालाई ०७८ पुस १ गते पन्यूले डामेर कुटपिट गरी घाइते बनाएपछि स्थानीय बासीले उद्धार गरी सुस्मा कोइराला मेमोरियल अस्पताल, काठमाडौँमा उपचार भएको थियो ।
पीडितको उजुरीको आधारमा सोही दिन गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान भएकोमा जिल्ला अदालतले कसुरदारहरूलाई ०७८ पुस २० गतेको आदेशले मुनालाई तीन लाख धरौटी राख्न र विमललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशपछि पुनरावेदन अदालतले मुनालाई एक लाख धरौटी राख्न र विमललाई थुनामा राख्न आदेश दिएको थियो । मुनाले धरौटी रकम नराखेपछि दुवै कसुरदार कारागारमा थिए ।