गुल्मीमा उमेर नपुग्दै गर्भवति हुनेको संख्या बढ्दै गएको छ ।
मुलुकी देवानी संहिता ०७४ को दफा ७० (१)(छ) मा महिला र पुरुषबिच विवाह हुनपर्ने उमेर २० वर्ष तोकिएको छ ।
कानुनले बर्जित गरेको उमेरमा विवाह गरे कानुन अनुसार कारबाही हुने व्यवस्था भए पनि गुल्मीमा वर्षेनी चार सय भन्दा बढी किशोरीहरू २० वर्ष नपुग्दै गर्भवति बन्ने गरेको तथ्याङ्कले देखाउछ ।
जिल्लाका न्यायीक निकायमा बाल विवाह मुद्दा दर्ता छैनन् तर, उमेर नपुग्दै आफू खुसी विवाह गरेर बच्चा जन्माउनेहरूको संख्या निकै धेरै रहेको छ ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गर्भवति भएपछि पहिलो पटक स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराएका ३ हजार ५ सय ३४ आमाहरू मध्ये २० वर्षमुनिका ३ सय ८१ जना आमाहरू रहेका छन् ।
अघिल्लो दुई वर्षमा पनि २० वर्ष नपुग्दै विवाह गरेर गर्भवति हुनेहरुको संख्या झन बढी रहेको थियो ।
आर्थिक वर्ष ०७८/०७९ मा ५ सय ३० र आर्थिक वर्ष ०७७/०७८ मा ५ सय ९३ जना उमेर नपुगेका आमाहरू रहेको स्वास्थ्य कार्यालयका तथ्यांक व्यावस्थापक मदन पालले जानकारी दिनुभयो ।
सामाजिक अभियान्ता तथा अधिवक्ता हिरा कुवंरले सामुहिक अभियान र सचेतना आवश्यक भएको बताउनु भयो ।
व्यक्ति परिवार र समुदायमा कानुनको अज्ञानताको कारण कम उमेरमा आफुखुसी विवह हुने गरेकाले सचेत बनाउन जरुरी रहेको कुवंरको भनाइँ छ ।
स्वास्थ्य कार्यालय गुल्मीमा निमित्त प्रमुख पशुपति आचार्यले २० नपुग्दै विवाह गर्नेहरूको संख्या धेरै रहेकाले तीनै तहको सरकारको समन्वयमा काम गर्नुपर्ने बताउनु भयो ।