INSEC Online

📅 २०८३ जेष्ठ २१

चालु आर्थिक वर्ष कर्णाली प्रदेशमा विपद्का घटनामा ६५ को मृत्यु, ६४ करोड बढीको क्षति

कालिकोट जिल्लाको  तिलागुफा नगरपालिका–४ राँचुलीमा ०७९ असोज २३  गते मलामी गएका १३ जनाको एकै पटक पहिरोमा परी मृत्यु भयो । स्थानीय युवा हेमराज शाहीको मृत्यु भएपछि करिब ७० जना तिला नदीको घाटमा मलामी गएका थिए । मलामी जाँदा माथिबाट आएको पहिरोमा परी  बेपत्ता भएका थिए ।

घाटमा लाश जलाउने क्रममा राँचुली गाउँमा आएको पहिरोमा परी मृत्यु हुनेहरूमा मानबहादुर शाही, अलिबहादुर शाही, खगेन्द्रबहादुर शाही, खिमबहादुर शाही, धनबहादुर शाही, भेषबहादुर शाही, भीमबहादुर शाही, प्रशान्त शाही, धनबहादुर शाही, नरेश बहादुर शाही, छत्रजंग शाही, परबहादुर शाही र मोतिलाल शाही रहेका थिए ।

यस्तै गरी जुम्ला पातारासी गाउँपालिका–२ तल्फि गाउँ १५ जना वैशाख १२ गते यासौगुम्वा टिप्ने भन्दै मुगुको पाटन तिर लागे । घरबाट हिडेर वैशाख १६ गते मुगुको पाटनमा पुगे । घरबाट हिड्दै जादा मौसम राम्रो थियो । तर पाटनमा पुगेपछि हिमपात भयो । हिमपात क्रम बढ्न थालेपछि उहाँहरू बिच बाटोबाट नै घर फर्किने निर्णय गरी १८ गते नै मुगुम कार्मारोङ गाउँपालिकाको ख्यान्चे पुगेर बास बसेको यार्साटिप्न पुगेका कर्ण सार्कीले बताउनु भयो ।

अर्को दिन मौसम सफा देखिएपछि फेरि उहाँहरू वैशाख २२ गते यार्साटिप्ने योजनाका साथ पाटन तिर लागे पाटन जानेक्रममा नै बिच बाटोमा हिड्दै जानेक्रममा अचानक पहिरो आउँदा सबैजना एकपटक हिमपहिरोमा परेको उहाँको भनाइ छ । सबै हिमपहिरोमा परेपछि एक अर्काको सहयोगमा १२ जानको उद्धार भयो तर तीनजना बेपत्ता भए । बेपत्ता भएका मध्य पुन्न कार्कीको शव सोही दिनको २ बजे भेटियो । भने अन्य दुईजना भने बेपत्ता भए ।

गाउँका १५ जनामा ४० वर्षीय तारासिंह सार्की र ३५ वर्षीय वीर बोहोराको शव २५ गते सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका डीएसपी महेश बस्नेतले जानकारी दिनुभयो ।
डीएसपी बस्नेतका अनुसार  मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा सङ्कलन गर्न गएका उहाँहरु हिउँपहिरोमा परी बेपत्ता भएका थिए ।
बेपत्तामा भएकालाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको थियो ।

यसै गरी सुर्खेतमा चालु आर्थिक वर्षमा कर्णालीमा विपद् घटनामा परी ६५ जनाको मृत्युभएको छ ।  २ हजार १ सय ७६ विपद्का घटनामा २८ जना बेपत्ता भएका छन् भने २ हजार ९ सय ४७ विस्थापित भएको सरकारी तथ्याङ्कले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्य सम्ममा कर्णालीमा विपद्मा १ सय १४ जना घाइते भएका छन् भने ६ हजार २ सय १७ घरमा क्षति पुगेको छ ।  आर्थिक वर्षको हालमा विपद्बाट कर्णालीमा ६४ करोड, ४६ लाख, ३१ हजार ७  सय ८४ धनजनको क्षति भएको छ ।

आर्थिक वर्षमा सबै भन्दा धेरै विपद्का घटना हुम्ला जिल्लामा भएका छन् जहाँ ९ सय ४० वटा विपदको घटनामा ९ सय ४ घरमा क्षति पुगेको छ भने विपद्मा परी ८ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् भने २ जना बेपत्ता रहेका छन् भने तीन हजार २ सय ८६ परिवार विस्थापित भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सुर्खेतमा ४ सय ३४ वटा विपदका घटना परी १८ जना घाइते भएका छन् भने तीन सय ७९ घरमा क्षति पुगेको छ भने ५ सय ६६ परिवार विस्थापित भएका छन् ।

यसै गरी सल्यानमा २ सय ३४ वटा विपदका घटनामा परि ४ जनाको मृत्यु भएको छ भने २ सय ३४ घरमा क्षति पुगेको छ भने ४४ जना घाइते भएका छन् भने ६ सय ४ घरपरिवार विस्थापित भएको जनाइएको छ ।

यसै गरी कालिकोटमा १ सय ६९ विपद्को घटनामा १ हजार ४ सय ७५ घरमा क्षति पुगेको छ भने २४ जनाको मृत्युभएको छ भने ८ जना घाइते भएका छन् भने १९ जना वेपत्ता रहेको छन् ७ हजार ४ सय १८ परिवार विस्थापित भएका छन् ।

यसैगरी दैलेखमा १ सय ६२ विपतका घटनामा एक सय ४९ घरमा क्षति पुगेको छ भने विपदमा परि ६ जनाले ज्यान गुमाएका छन् भने ११ जना घाइते भएका छन् भने २ जना बेपत्ता छन् भने १ हजार ६ सय ६५ परिवार विस्थापित भएका छन् ।

यसै गरी रुकुम पश्चिममा ७६ विपद्का घटनामा ५५ घरमा क्षति पुगेको छ भने विपदमा परी चार जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन् भने १ जना वेपत्ता छन् भने १७ परिवार विस्थापित भएका छन् ।

यसै गरी जाजरकोटमा ५५ ओटा विपद्का घटनामा ३० घरमा क्षति पुगेको छ भने विपद्मा परी चार जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते बेपत्ता भएका छन् भने १७ परिवार विस्थापित भएका छन् ।
यसै गरी मुगुमा ५० ओटा विपद्का घटनामा ४ सय ७१ घरमा क्षति पुगेको छ भने विपदमा परी ११ जनाले ज्यान गुमाएका छन् भने १ जना घाइते भएका छन् । तीन जना बेपत्ता छन् भने ५ हजार ३ सय ८६ परिवार विस्थापित भएका छन् ।

यसै गरी जुम्लामा ३२ ओटा विपद्का घटनामा १ हजार ७ सय १० घरमा क्षति पुगेको छ भने विपदमा परि ११ जनाले ज्यान गुमाएका छन् भने ८ जना घाइते भएका छन् १ जना वेपत्ता छन् भने १ हजार ९ सय ५६ परिवार विस्थापित भएका छन् ।

यसै गरी डोल्पामा सबै भन्दा कम विपद्का घटना घटेका छन्  । चालु आर्थिक वर्षको अन्त्य सम्ममा डोल्पामा १५ ओटा विपद्का घटना घटेका छन् जसमा १० घरमा क्षति पुगेका छ भने ३ जनाको मृत्यु ६ जना घाइते भएका छन् भने ३२ परिवार विस्थापित भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

कर्णालीमा आर्थिक वर्ष ०७८/०७९ मा विपद्को घटनामा ६८ जनाको मृत्यु भएको छ । १६ जना बेपत्ता ७३ घाइते भएका छन् । सोही वर्ष १ हजार २ सय १५ विपदका घटना भएका छन् । जसमा १ हजार १ सय ८६ घरमा क्षति भएकोे छ । ४ सय ४२ घरपरिवार विस्थापित भएका छन् । सोही वर्ष विपतका कारण ५१ करोड ४१ लाख ५२ हजार २ सय ५७ धनजनको क्षति भएको जनाइएको छ ।
यसै गरी आर्थिक वर्ष ०७७÷७८ मा विपदमा परेर ८५ जनाको मृत्यु भएको थियो । सोही वर्ष विपद्को घटनामा परी ११ जना बेपत्ता भएका थिए । ४ सय १६ विपद्का घटना भएका थिए । घटनामा १ हजार १ सय ३४ घरमा क्षति पुगेको थियो । १ हजार ३ सय २१ घरपरिवार विपद्मा परी विस्थापित भएका थिए । सोही वर्ष ३५ करोड ५६ लाख ९९ हजार ५ सय ६४ धनजनको क्षति भएको प्रहरीको तथ्याङ्कमा  उल्लेख छ ।

कर्णाली प्रदेशमा सबै धेरै मानवीय क्षति पहिरोका कारण हुने गरेको छ । पहिरोका कारण ३८ जनाको मृत्यु भएको छ भने आगलागीबाट ७ जनाले मृत्यु भएको छ ।  प्रहरीको तथाङक अनुसार सबैभन्दा बढी पहिरो, दोस्रोमा आगलागी र तेस्रोमा बाढीका कारण धनजनको क्षति हुने गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा ८६ वटा आगलागीका घटना भएकोमा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । यसैगरी चट्याङका ३३ वटा घटना भएका छन् भने तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

यो वर्ष पहिरोका ३ सय ४८ ओटा घटना भएका छन् । कर्णालीमा पछिल्ला केही वर्षयता मनसुनजन्य विपद्का घटना बढ्न थालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय  विपद् व्यवस्थापन  अधिकृत कृष्णबहादुर रोकायाले बताउनुभयो । उहाँले विपद् व्यवस्थापनमा पूर्वतयारीका उपायमा सावधानी अपनाउदा पनि यस्ता खालका घटनाहरु दोहोरिने गरेको बताउनु भयो ।

जोखिममा रहेका बस्तीलाई स्थान्तरणका लागि सहयोग गर्ने

कर्णालीका धेरै स्थानमा पहिरोको जोखिम छ । विशेष गरी यो वर्ष हुम्ला र मुगुका २२ ओटा बस्ती सार्नैपर्ने अवस्था देखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । अन्यत्र पनि त्यस्तो जोखिम भएको खण्डमा पालिकाले सिफारिस गरेर पठाएको खण्डमा बस्ती सार्न सकिने मन्त्रालयले जनाएको छ । स्थानीय स्तरमा जोखिममा रहेको बस्ती स्थान्तरणका लागि पालिकाले सिफरिस गरेर पठाएमा प्रदेश सरकारले जोखिममा रहेका बस्तीलाई स्थान्तरणकालागि सहयोग गर्न  सक्ने मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनु भयो ।

आगामी आर्थिक वर्षमा वजेटको सिमाभित्र रहेर प्रदेश सरकारले सामान्य राहतको व्यवस्था गर्न सक्ने मन्त्री जिसीले बताउनु भयो । सामुहिक विपद् दुर्घटना विमाबाट नागरिकलाई आवश्यक क्षतिपुर्तिको व्यवस्था प्रदेश सरकारले गर्ने उहाँको भनाइ छ  ।

यस वर्ष बाढीपहिरोबाट १२ लाख ५० हजार प्रभावित हुने अनुमान

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुचना अनुसार यस वर्षको बाढीपहिरो लगायत मनसुनजन्य प्रकोपबाट देशभर १२ लाख ५० हजार  नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।
यो वर्ष कर्णाली प्रदेशमा ३५ हजार ३३३ जना प्रभावित हुने आँकलन छ । विगतका तथ्यांकलाई हेर्ने हो भने कर्णाली प्रदेशका रूकुम पश्चिम, दैलेख र सुर्खेत  जिल्ला  पहिरोको जोखिममा छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष तुलनात्मक रुपमा देशैभर कम पानी पर्नेछ ।

प्रतिकार्य कार्ययोजना स्वीकृत

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८० स्वीकृत गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कार्ययोजना स्वीकृत गरेको हो ।

स्वीकृत कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाहरुको जिम्मेवारीका साथै खोज, उद्धार तथा राहत सामग्रीहरुको मौज्दातीको विवरण समेटिएको छ ।

चालु आर्थिक वर्षमा १ करिब २ करोड बराबरको राहत वितरण

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष विपद्मा परेकालाई १ करोड बराबरको राहत वितरण गरेका छ । सरकारको उद्धार तथा राहत कोष मार्फत चालु आर्थिक वर्ष ०७९÷८० मा  १ करोड ९० लाख बराबरको राहत वितरण गरेको जनाएको छ । विपद्मा परेका नागरिकको क्षतिको विवरणका आधारमा प्रदेश सरकारले उक्त रकम बराबरको राहत कर्णालीका दश जिल्लामा वितरण गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखा प्रमुख कृष्ण रोकायाले बताउनु भयो ।

आर्थिक वर्ष ०७७/७८ मा कर्णालीका दश जिल्लामा १ करोड ६० लाख बराबरको राहत वितरण गरिएको थियो भने आर्थिक वर्ष ०७८/७९ मा ३ करोड १ लाख बराबरको राहत वितरण गरिएको साखा प्रमुख रोकायाले बताउनु भयो ।

सरकारले आर्थिक वर्ष ०७७/७८ मा ४ लाख ४२ हजार ७ सय १० बराबरको जिन्सी सामग्री वितरण गरेको समेत जनाएको छ । यसैगरी विपद्मा परेका नागरिकका लागि सरकारले आर्थिक वर्ष ०७८/७९ मा ९७ लाख ५९ हजार ९ सय २५ बराबरको जिन्सी सामग्री वितरण गरेको थियो । भने आर्थिक वर्ष ०७९/०८०मा ९७ लाख ९ हजार ९ सय २३ बराबरको जिन्सी सामग्री विपद् प्रभावितलाई वितरण गरेको छ ।

कर्णालीमा विपद् घटनामा परेका नागरिकलाई राहत वितरणमा भौगोलिक विकटता, यातायातको असुविधा तथा एकद्धार प्रणाली लागु नहुँदा समस्या हुने गरेको विपद् व्यबस्थापन साखा प्रमुख रोकायाले बताउनु भयो । सरकारले राहत वितरणका लागि कार्यविधी र निर्देशिका अनुसार गर्ने गरेको छ ।  सरकारले चालु आर्थिक वर्षमा विपद् पुर्वतयारीका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८० अध्यावधिक गरी काम गर्ने योजना बनाएको छ ।

राष्ट्रिय विमा कम्पनीसँग मिलेर सरकारले कर्णालीका हरेक नागरिकको विपद् विमा समेत गरेको छ । विपद्मा परी अंगभङ्ग भएमा अथवा मृत्यु भएका नागरिकलाई दुई लाख दिने गरेको छ । सरकारले तीन वर्षको अवधीमा ४ करोड ६० लाख बराबरको विमा गरेको थियो । तीनवर्षको अवधीमा १ सय ७७ जना कर्णाली बासीलाई दुई लाखका दरले राष्ट्रिय विमा कम्पनीले भुक्तानी दिएको छ ।

अन्य

भिडियो