गल्छी गाउँपालिका-५ सिरुवानीमा रहेको श्री कालिका आधारभुत विद्यालयका आमा गुमाएका, बुबा नभएका लगायत गरिब तथा दलित ३६ जना विद्यार्थीहरूलाई हाइवे बचत तथा ऋण सहकारी संस्थाद्वारा ०८० जेठ ३० गते स्टेशनरी सामग्री वितरण गरेको छ ।

अभिभावक गुमाएर अति कष्ट व्यहोरिरहेको अवस्थामा विद्यालयमा अध्यायन गरिरहेका १२ जना सहित ३६ जना विद्यार्थीहरूलाई आधा दर्जनका दरले कापी, दुई/दुई ओटा कलम वितरण गरिएको विद्यालयमा प्रधानाध्यापक बैकुण्ठ अधिकारीले जानकारी दिनुभयो ।
इन्सेक अनलाइनमा विद्यार्थीको अवस्था झल्कने गरी ‘आमा नभएपछि पढ्नमा भन्दा नाना र खानाको चिन्ता‘ शीर्षकमा ०७९ माघ ३ गते समाचार प्रकाशन भएको थियो ।
समाचार प्रकाशनपछि हाइवे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिव भण्डारीले बालबालिकालाई नयाँ शैक्षिक सत्रको सुरुमा सहयोग गर्ने बताउनुभएको थियो ।
सोही बमोजिम सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्टेशनरी सामग्री सहयोग गरेको भण्डारीले जानकारी दिनुभयो ।
गल्छीमा रहेको श्री कालिका आधारभुत विद्यालयमा दलित जनजातीका विद्यार्थी अध्यान गर्छन् जसले विद्यालय पोशाक समेत लगाउन पाएका छैनन् । गरिबीका कारण आधाजसो विद्यार्थी भोकै विद्यालय आउन बाध्य रहेको प्रधानाध्यापक अधिकारीले बताउनु भयो ।