गुल्मीमा अझै ५८.४ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका छन् । जिल्लामा अहिलेसम्म १ लाख ९सय ९६ अर्थात ४१.९६ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् ।
जिल्लामा ४८ हजार ६ सय ७० जना पुरूष र ५२ हजार ३ सय ६ जना महिलाले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय, गुल्मीका दर्ता अधिकारी सविन घिमिरेले बताउनु भयो ।
राष्ट्रिय जनगणना ०७८ अनुसार जिल्लाको जनसङ्ख्या २ लाख ४६ हजार ८ सय ३६ रहेको छ ।
इस्मा गाउँपालिमा–४ का ४४ वर्षीय पुर्णबहादुर घर्तीले वैशाख महिनामा मात्रै परिवारका विभिन्न सदस्यको उपचारको लागि ८ हजार रूपियाँ खर्च गर्नुभयो ।
मेलापात र मजदुरी गरेर बिहान–साँझको जोहो गरेका परिवारलाई बिरामी हुँदा क्रृण खोजेर उपचार गर्नुपर्ने अवस्था छ ।
घर्तीले आफूले स्वास्थ्य बिमाको बारेमा कहिले नसुनेको बताउनु भयो । ‘बिहानै उठेर काममा हिड्नेलेलाई बिमाको पत्तो हुने कुरै भएन । क्रृण खोजेर उपचार गरिरहेको छु ।’,घर्तीले भन्नु भयो ।
यसैगरी, सत्यवति गाउँपालिका–२ की सीता केसीले पनि घरपरिवारको उपचारमा वार्र्षिक न्यूनतम २५देखि ३० हजार रूपियाँ खर्च हुने गरेको बताउनु हुन्छ । उहाँ पनि ३ हजार पाँच सय रूपियाँ तिरेर १ लाख रूपियाँ बराबरको उपचार स्वास्थ्य बिमाबाट निशुल्क हुने कुरामा अनभिज्ञ हुनु हुन्छ ।
घर्ती र केसी प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै धेरैलाई स्वास्थ्य बिमाका बारेमा जानकारी छैन ।
ज्येष्ठ नागरिक, एच आइ भि संक्रमित, कुष्ठरोगी र जटिल खालको क्षयरोगीको निशुल्क स्वास्थ्य बिमा हुने गरेको छ ।
स्वास्थ्य बिमाको उद्देश्य अनुसारका बिपन्न नागरिक बिमाको कम पहुँचमा रहेका छन् । बिमा बोर्डको स्थायी सङ्रचना र प्रयाप्त जनशक्ति नभएका कारण बिमाको प्रचार र प्रसार तथा अस्पतालहरूको बिमाको अवस्था अनुगमन तथा निरिक्षणको अभाव रहेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय, गुल्मीका दर्ता अधिकारी सविन घिमिरेले बताउनु भयो ।
जिल्लामा ३ हजार ५ सय रूपियाँ पनि उपलब्ध गराउन नसक्ने परिवारहरूका कारण बिपन्नलाई बिमाको पहुँचमा ल्याउन समस्या भएको छ ।
स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय, गुल्मीका दर्ता अधिकारी घिमिरेका अनुसार अति गरिब परिवारलाई निशुल्क बिमा गर्ने कार्यक्रम कार्यान्वयनमा छैन् ।