INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

‘ग’ वर्गको जिल्ला कारागारको जिर्ण भवनमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिएपछि व्यवस्थापनमा समस्या भएको छ ।

१० महिला र १५ पुरुष गरी २५ जना क्षमता रहेको जिल्ला कारागारमा हाल ५६ कैदी र २१ थुनुवा गरी ७७ जनालाई राख्नु पर्दा व्यवस्थापन गर्न समस्या भएको जिल्ला कारागार, बैतडीका जेलर धारा भण्डारीले बताउनु भयो ।

ठाउँ अभावका कारण केही कैदीबन्दीहरुलाई टेण्टमा सुत्ने व्यवस्था मिलाएको उहाँले बताउनु भयो ।

कारागार भवन जिर्ण अवस्थामा रहेका कारण छानो समेत चुहिने गरेको कारण पानी परेको दिन सुत्नलाई समेत समस्या हुने गरेको कारागारका नाइके खेमराज अवस्थीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘आजभोलि पानी पर्दा छानो समेत चुहिन्छ । क्षमता भन्दा तेब्बर कैदीवन्दी हुँदा कोचिएर वस्न पर्ने बाध्य छ । शौचालय प्रयोग गर्नका लागि लाइनमा कुरेर बस्नु पर्ने बाध्यता छ ।’

छानो मर्मतका लागि प्रदेश सरकारसँग ३ लाख रुपियाको सम्झौता भएकोले केही दिन भित्र छानो मर्मत गरिने योजना बनाइएको जेलर भण्डारीले जानकारी दिनु भयो ।

अन्य

भिडियो