त्रिपुरासुन्दरी नगरपालिका–२ की २९ वर्षीया जिरा विकले आफूलाई दिनहुँ कुटपिट गरेको भन्दै ३६ वर्षीय पति लालबहादुर विक विरुद्ध प्रहरी चौकी त्रिपुराकोट वगरमा जेठ २८ गते उजुरी दिनु भएको छ ।
प्रत्येक दिन मदिरासेवन गरी कुटपिट गर्दै आउनु भएका पति लालबहादुरले जेठ २६ र २७ गतेका दिनमा चिरपट दाउराले मरणासन्न हुने गरी कुटपिट गरेपछि बाध्य भएर प्रहरी चौकीमा उजुरी दिनु परेको पीडितले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनु भयो ।
कुटपिटबाट पीडितको गर्धन पछाडिको भागमा निलडाम छ । प्रहरी चौकी त्रिपुराकोटबाट दुई घण्टाको पैदल दुरीमा रहेको रुम गाउँमा आरोपितलाई गिरफ्तार गर्न प्रहरी जवान पठाइएको चौकी इन्चार्ज सई रुद्धबहादुर शाहीले जानकारी दिनु भयो ।
पीडित त्रिपुरासुन्दरी नगरपालिकास्थित स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फिर्ता भएको नगर स्वास्थ्य चौकी संयोजक जुनकुमारी रोकायाले बताउनु भयो ।