१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले किस्पाङ गाउँपालिका-३ का २० वर्षीय परिमान तामाङलाई ०८० जेठ २४ गते चार महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश मदनबहादुर धामीको इजलासले गरेको अन्तिम फैसलामा आंशिक दाबी पुग्ने ठहर गर्दै चार महिना कैद सजाय, १० हजार रुपियाँ जरिबाना, २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउन र ५ सय २० रुपियाँ पीडित राहत कोषमा दाखिला गर्न आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।
पीडित बालिकालाई तामाङले ०७८ माघ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा माघ १३ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन त्रिशूली अस्पतालमा भएको थियो । जिल्ला अदालतले तामाङलाई फागुन ५ गते पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।