१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रामप्रसादराई गाउँपालिका–१ ओख्रेका ४७ वर्षीय अम्विराज कार्कीलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको ०८० जेठ २४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै सात वर्ष कैद सजायसँगै पीडितले पाउने गरी २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार नवराज कार्कीले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७८ फागुन २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७९ असार २९ गते जिल्ला प्रहरी कार्यालय, भोजपरमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई असार २९ गते घरबाटै गिरफ्तार गरी सरकारी वलिकको कार्यालयमार्फत जिल्ला अदालतमा ०७९ साउन १६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतका न्यायाधीश गेहेन्द्रराज पन्तको २०७९ साउन १६ गतेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ असार २९ गते गरिएको थियो ।
१९ वर्षीया बुहारीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३८ वर्षीय जेठाजुलाई १३ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको ०८० जेठ २३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३ लाख ५० हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी ५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार नवराज कार्कीले बताउनु भयो ।
पीडित महिलालाई आरोपितले ०७९ भदौ २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७९ भदौ २६ गते जिल्ला प्रहरी कार्यालय, भोजपरमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई भदौ २६ गते घरबाटै गिरफ्तार गरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा असोज ९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको ०७९ असोज ९ गतेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ भदौ २६ गते गरिएको थियो ।