INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनी प्रदेशमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढदो, गर्भपतन गराउनेमा २० वर्षमुनीका १० प्रतिशत भन्दा बढी

लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेको संख्या बढेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार  गर्भपतन गराउने मध्ये २० वर्षमुनीका १० प्रतिशत भन्दा बढी रहेका छन् ।

आर्थिक वर्ष ०७६/०७७ मा १८ हजार ७ सय ८५, ०७७/७८ मा १७ हजार ४ सय ९७ र ०७८/७९ मा १८ हजार ४ सय १५ जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका तथ्याङ्क अधिकृत डोरबहादुर बस्नेतले बताउनु भयो ।

बस्नेतका अनुसार गर्भपतन गर्ने मध्ये ३५ हजार ४ सय ७८ जनाको मेडिकल विधिबाट र १९ हजार २ सय १९ जनाको सर्जिकल माध्यमबाट गर्भपतन गराइएको हो । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये रूपन्देहीमा सबैभन्दा बढी गर्भपतन गराउनेको संख्या रहेको छ । रूपन्देहीमा १२ हजार ५८ जनाले सुरक्षित गर्भपतन सेवा लिएको तथ्यांकमा उल्लेख छ ।

“पहिले पहिले सूचीकृत स्वास्थ्य संस्थाको संख्या कम भएका कारण सबैको पहुँच थिएन । अहिले सूचीकृत स्वास्थ्य संस्थाहरू संख्या बढेसँगै गर्भपतन गराउनेको संख्या पनि बढी भएको हुन् सक्छ ।’ विगतमा असुरक्षित गर्भपतन गराउने गरेका कारण अहिले सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको देखिएको हुन सक्छ ।”बस्नेतले भन्नु भयो ।

भीम अस्पताल, भैरहवाका मेडिकल सुपरिटेण्डेन तथा स्त्री  रोग विशेषज्ञ डा. शकुन्तला गुप्ताले कलिलो उमेरमा शारीरिक सम्बन्ध राख्ने तथा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न झन्झट मान्ने कारणले पनि गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेका बताउनु भयो ।

पति  विदेशमा बस्ने भएपछि परिवार नियोजनका साधनहरूको वास्ता नगर्ने र पति घर आउदा   अनच्छित गर्भ रहन  गए पछि  गर्भपतन गराउने गरेको  गुप्ताको भनाइ रहेको छ ।

असुरक्षितरुपमा गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा पछिसम्म समस्या पर्ने भएकाले गर्भपतन गर्नु पर्ने भएमा सुरक्षितरुपमा नै गर्नु पर्ने गुप्ताको सुझाव छ ।

लुम्बिनी प्रदेशमा सुरक्षित गर्भपतन सेवा लिने किशोरीहरुको संख्या पनि वृद्धि हुँदै गइरहेको पाइएको छ । गर्भपतन गराउनेमध्ये करिब १० प्रतिशत २० वर्ष भन्दा कम उमेर समूहका छन् । ‘१५/१६ वर्षकै उमेरमा पनि गर्भपतन गराउन आएको देखिन्छ,’ स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत  बस्नेत भन्नु हुन्छ ।

अधिवक्ता तथा अधिकारकर्मी हेमा न्यौपानेले २० वर्षमुनीका १० प्रतिशत बढीले गर्भपतन गराएको तथ्यांक असाध्यै दुखदायी भएको बताउनु भयो । कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको भए पनि कानुन विपरित विवाह गर्दा यस्तो समस्या आउने गरेको न्यौपानेले बताउनु भयो ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म तीन वर्षको अवधिमा  ४ हजार ८ सय १५ जना, २० वर्षसम्मका महिलाहरूले गर्भपतन गराएका थिए । जुन कूल गर्भपतन गराउनेको १० प्रतिशत हो ।

लुम्बिनी प्रदेशमा सुरक्षित गर्भपतनका साथै असुरक्षित गर्भपतन पनि हुने गरेको स्वास्थ्य निर्देशनालय अधिकृत बस्नेतले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका डिएसपी श्यामु अर्यालले असुरक्षित गर्भपतन गराएको घटना प्रहरीमा समेत आउने गरेको बताउनु हुन्छ ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराएमा गर्भवती महिलाको ज्यान खतरामा हुनसक्ने तथा विकलाङ्ग बच्चा जन्मने भनी इजाजत प्राप्त चिकित्सकको रायमा २८ हप्तासम्म, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ भए २८ हप्तासम्म, रोग प्रतिरोध क्षमता उन्मुक्ति गर्ने जिवाणु (एआईभी) वा निको नहुने रोग लागेको अवस्थामा र भुण्रमा कमी कमजोरी भएका कारण गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कुनै कारणले भु्रणमा अशक्तता हुने अवस्थामा स्वास्थ्यकर्मीको रायमा २८ हप्तासम्मको गर्भ पतन गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।

अन्य

भिडियो